रसुवा बाढीपीडित काठमाडौंका गुम्बा र आफन्तका घरमा आश्रय लिन बाध्य

ड्रागन मिडिया सम्वाददाता
रसुवासहित विभिन्न जिल्लामा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिक जिल्लामा बनाइएका अस्थायी आश्रयस्थलमा मात्र नभई काठमाडौंका गुम्बा र आफन्तका घरमा समेत आश्रय लिन बाध्य भएका छन्। बाढीबाट रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १९ स्थानीय तह प्रभावित भएका छन् भने तत्काल आश्रय आवश्यक परेका नागरिक मुख्यतः रसुवा, नुवाकोट र धादिङका छन्।
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीन जिल्लाका ३० वटा होल्डिङ सेन्टरमा कुल दुई हजार १५५ जनाले आश्रय लिइरहेका छन्। रसुवाका नौ केन्द्रमा ८२५, नुवाकोटका १९ केन्द्रमा एक हजार २३६ र धादिङका दुई केन्द्रमा ९४ जना रहेका छन्। तर काठमाडौं आएर गुम्बा वा आफन्तका घरमा बसिरहेका बाढीपीडितको छुट्टै संख्या सरकारले सार्वजनिक गरेको छैन।
प्राधिकरणले काठमाडौंमा आश्रय लिइरहेका रसुवाका नागरिकलाई समेत रसुवाकै तथ्यांकमा समेटिएको जनाएको छ। कतिपय प्रभावितलाई उद्धार गरी सिधै काठमाडौं ल्याइएको थियो भने केही आफैं आश्रय खोज्दै राजधानी आएका हुन्। काठमाडौं पुगेकाहरू गुम्बाको सम्पर्कमा पुगेका छन् भने केही आफन्त तथा अध्ययनका लागि काठमाडौंमा बसिरहेका छोराछोरीका कोठामा बसेका छन्।
स्वयम्भूस्थित नुब्री समाज गुम्बामा नियमित रूपमा करिब ३० देखि ३५ जना बाढीपीडितले आश्रय लिइरहेका छन्। त्यहाँ उनीहरूका लागि खाना र बसोबासको व्यवस्था गर्नुका साथै नियमित स्वास्थ्य जाँच र मनोपरामर्शसमेत भइरहेको छ। दिउँसो स्वास्थ्य परीक्षण, मनोपरामर्श र घेवा गर्न आउने प्रभावितको संख्या भने नियमित बसोबास गर्नेभन्दा बढी हुने गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार बाढी प्रभावितलाई हाल नुब्री समाज गुम्बा, यल्लो गुम्बा र मुस्ताङ गुम्बामा राखिएको छ। प्रशासनसँग यी तीन गुम्बामा हाल कति जना बसिरहेका छन् भन्ने एकीकृत तथ्यांक भने छैन। काठमाडौं प्रहरीका अनुसार बाढीपछि शुरुआती चरणमा यल्लो गुम्बामै करिब ३०० जनाले आश्रय लिएका थिए। एकै स्थानमा धेरै मानिस भएपछि उनीहरूलाई अन्य गुम्बामा समेत व्यवस्थापन गरिएको थियो।
गुम्बाबाहेक आफन्तका घरमा बसेका प्रभावितलाई पनि राहत उपलब्ध गराइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले हालसम्म करिब १५० घरपरिवारलाई एक महिनासम्म पुग्ने खाद्य तथा आवश्यक राहत सामग्री वितरण गरेको जनाएको छ। गुम्बामा बसेकाहरूको खाना तथा बसोबास व्यवस्थापन भने विभिन्न संघसंस्थाले गरिरहेका छन्।
बाढीपछिको तत्काल उद्धार सकिँदै जाँदा प्रभावित नागरिकको दीर्घकालीन बसोबास, शिक्षा, स्वास्थ्य, मनोपरामर्श र पुनर्स्थापनाको प्रश्न अझ महत्वपूर्ण बन्दै गएको छ। जिल्लाबाहिर आश्रय लिन पुगेका नागरिकको छुट्टै अभिलेख राखेर उनीहरूको वास्तविक आवश्यकता पहिचान गर्नु राहत तथा पुनर्स्थापनाको आगामी चरणका लागि आवश्यक देखिएको छ।





