लोपोन्मुख जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिँदै वीरेन्द्रभक्त, पाँचौँपटक जिब्रो छेड्दै

ड्रागन मिडिया सम्वाददाता
मध्यपुरथिमि नगरपालिका–४ बालकुमारीका ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले लोपोन्मुख अवस्थामा पुगेको परम्परागत जिब्रो छेड्ने जात्रालाई जीवन्त राख्न यस वर्ष पनि जिब्रो छेड्ने भएका छन्। उनले यही असोज १० गते शनिबार येँया पुन्हिःका दिन पाँचौँपटक जिब्रो छेडेर ऐतिहासिक जात्रालाई निरन्तरता दिने बताएका छन्।
विगतमा नियमित हुन नसकेको यो जात्रा विसं २०७४ मा वीरेन्द्रभक्तकै अगुवाइमा पुनः शुरु भएको थियो। त्यसपछि उनले २०७९, २०८१ र २०८२ सालमा जिब्रो छेडेका थिए। विसं २०७५ मा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएका थिए भने कोरोना महामारीका कारण जात्रा पुनः अवरुद्ध भएको थियो। महामारीपछि २०७९ सालमा वीरेन्द्रभक्तले जिब्रो छेडेर परम्परालाई पुनः निरन्तरता दिएका थिए। यसअघि मध्यपुरथिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, २०५७ र २०६३ सालमा जिब्रो छेडाएका थिए।
आर्थिक अभावका कारण पटकपटक रोकिँदै आएको यो जात्रा सञ्चालन गर्न छ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ। नगरपालिकाबाट प्राप्त हुने सहयोगभन्दा ठूलो हिस्सा जिब्रो छेड्ने व्यक्ति र स्थानीय समुदायले नै व्यहोर्दै आएका छन्। मध्यपुरथिमिको दिगुभैरव मन्दिरको डबलीमा हजारौँ मानिसको उपस्थितिमा जिब्रो छेडेपछि जात्रा शुरु हुन्छ। परम्पराअनुसार जिब्रो छेड्ने व्यक्तिको इच्छामा जात्रा पशुपतिनाथ मन्दिरसम्म पुर्याउने प्रचलनसमेत छ।
भाद्र शुक्ल पूर्णिमाको साँझ तेलमा डुबाएर राखिएको करिब एक फिट लामो फलामको सियोलाई दिगुभैरव मन्दिरको डबलीमा विधिपूर्वक पूजा गरेपछि त्यसैले जिब्रो छेडिन्छ। त्यसपछि जिब्रोमा सियोसहित नगर परिक्रमा गर्दै पशुपतिनाथसम्म पुग्ने र पुनः बालकुमारी मन्दिर फर्किएपछि सियो निकाल्ने परम्परा छ। धार्मिक तथा सांस्कृतिक विश्वासअनुसार यो जात्रा सम्पन्न गरेपछि नगर रोग, अनिकाल र प्राकृतिक विपदबाट सुरक्षित रहने जनविश्वास रहँदै आएको छ।
किंवदन्तीअनुसार प्राचीनकालमा थिमि क्षेत्रमा भूतप्रेत र पिशाचको आतङ्क बढेर मानिसको ज्यान जान थालेपछि त्यसलाई नियन्त्रण गर्न एक व्यक्तिको जिब्रो छेडेर नगर परिक्रमा गराइएको थियो। त्यसपछि भूतप्रेत र पिशाच भागेको तथा नगरमा शान्ति स्थापना भएको विश्वास गरिन्छ। यही किंवदन्तीसँग जोडिएको जिब्रो छेड्ने परम्परा समयक्रममा कमजोर बन्दै गए पनि वीरेन्द्रभक्तलगायत स्थानीयको सक्रियताले पछिल्ला वर्षमा पुनः जीवन्त बन्न थालेको छ।
पाँचौँपटक जिब्रो छेड्ने वीरेन्द्रभक्तको तयारीलाई केवल व्यक्तिगत धार्मिक आस्थाका रूपमा मात्र नभई पुस्तौँ पुरानो अमूर्त सांस्कृतिक सम्पदा जोगाउने स्थानीय प्रयासका रूपमा समेत हेरिएको छ। नियमितता, आर्थिक व्यवस्थापन र नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्न सके मध्यपुरथिमिको विशिष्ट पहिचान बोकेको यो जात्रा भविष्यका पुस्तासम्म हस्तान्तरण गर्न सकिने स्थानीयको अपेक्षा छ।





