२ आश्विन २०८३, शुक्रबार

चीनले खोल्यो पिङलु नहर, दक्षिणपश्चिम चीनदेखि आसियानसम्म नयाँ व्यापारिक मार्ग

ड्रागन मिडिया समाचार कक्ष

चीनले दक्षिणपश्चिमी भूभागलाई समुन्द्र र अन्तर्राष्ट्रिय बजारसँग छोटो जलमार्गबाट जोड्ने पिङलु नहर औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। १३४.२ किलोमिटर लामो यो नहर सञ्चालनमा आएसँगै दक्षिणपश्चिम चीनबाट समुन्द्रसम्म सामान ढुवानी गर्ने आन्तरिक जलमार्गको दूरी ५६० किलोमिटरभन्दा बढी छोटिएको छ। विशेष गरी चीन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानबीच व्यापार तथा आपूर्ति श्रृंखला विस्तारका लागि यो नहर नयाँ रणनीतिक मार्ग बन्ने अपेक्षा गरिएको छ।

७२.७ अर्ब युआन अर्थात करिब १०.७५ अर्ब अमेरिकी डलर लागतमा निर्माण गरिएको नहर दक्षिण चीनको क्वाङसी च्वाङ स्वायत्त क्षेत्रको हङचौबाट शुरु भएर पेइपु खाडीसम्म पुग्छ। पेइपु खाडी दक्षिणपश्चिम चीनका धेरै भूभागका लागि सबैभन्दा नजिकको सामुद्रिक निकास हो। नयाँ अन्तर्राष्ट्रिय स्थल–समुन्द्र व्यापारिक करिडोरअन्तर्गत पर्ने पिङलु नहर सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना भएपछि राष्ट्रिय स्तरबाट योजना र समन्वय गरिएको पहिलो नदी–समुन्द्र नहर परियोजना हो।

पाँच हजार टनसम्मका पानीजहाज सञ्चालन गर्न सकिने गरी निर्माण गरिएको नहरले क्वाङतोङ प्रान्तका बन्दरगाह हुँदै प्रयोग गरिने परम्परागत मार्गको तुलनामा जलयात्रा उल्लेखनीय रूपमा छोट्याएको छ। यसबाट समग्र ढुवानी लागत १८ देखि ३० प्रतिशतसम्म घट्ने र वार्षिक पाँच अर्ब युआनभन्दा बढी यातायात खर्च बचत हुने अनुमान गरिएको छ। कोइला, खनिज, अन्न, नयाँ ऊर्जा सामग्री र सवारीसाधनका पार्टपुर्जालगायत दक्षिणपश्चिम चीनमा उत्पादित वस्तुले अब अन्तर्राष्ट्रिय बजारसम्म पुग्न थप सीधा मार्ग पाउनेछन्।

चार वर्षभन्दा बढी समय लगाएर निर्माण गरिएको नहरको अधिकांश भाग विद्यमान जलमार्गलाई फराकिलो, गहिरो र सीधा बनाएर तयार गरिएको हो। केही भाग भने सुख्खा जमिन र पहाडी भूभाग खनेर निर्माण गरिएको छ। परियोजनाको प्रमुख इञ्जिनियरिङ चुनौती करिब ६५ मिटरको जलस्तर अन्तर थियो। यसलाई व्यवस्थापन गर्न दुईतर्फी जहाज लकसहित तीनवटा नौवहन केन्द्र निर्माण गरिएका छन्, जसले फरक जलस्तरमा पानीजहाजलाई माथि र तल लैजान सक्षम बनाउँछन्।

नहरमा पानीको पुनःप्रयोग गर्ने विशेष प्रणालीसमेत विकास गरिएको छ। यसबाट वार्षिक एक अर्ब घनमिटरभन्दा बढी पानी बचत गर्न सकिने बताइएको छ। निर्माणका क्रममा निकालिएको करिब ३१ करोड ५० लाख घनमिटर माटो र चट्टानमध्ये ९८ प्रतिशतभन्दा बढी पुनःप्रयोग गरिएको छ। वातावरणीय संरक्षणका लागि ४८० मिटरभन्दा लामो माछा आवागमन मार्ग तथा चितुवा बिरालो र लोखर्केलगायत स्थलचर वन्यजन्तुका लागि पृथक आवागमन मार्गसमेत निर्माण गरिएको छ।

क्वाङसी क्षेत्रीय सरकारका उपाध्यक्ष लु सिननिङका अनुसार पिङलु नहरले चीनका करिब एक अर्ब ४० करोड उपभोक्ता र आसियानका झण्डै ७० करोड उपभोक्ताबीच नयाँ सम्पर्क स्थापित गरेको छ। यसको प्रभाव सामान ढुवानीमा मात्र सीमित नरही सीमापार लगानी वृद्धि, औद्योगिक विकास र क्षेत्रीय आपूर्ति श्रृंखलाको गहिरो एकीकरणसम्म विस्तार हुन सक्ने अपेक्षा गरिएको छ।

चीनको पन्ध्रौँ पञ्चवर्षीय योजना सन् २०२६–२०३० को पहिलो वर्षमै सञ्चालनमा आएको यो नहरले आर्थिक रूपमा विकसित पूर्वी तटीय क्षेत्रको तुलनामा समुन्द्रसम्मको पहुँच महँगो र कठिन रहेको दक्षिणपश्चिम चीनका प्रान्त तथा क्षेत्रलाई विशेष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ। ढुवानी लागत घटेसँगै केही मालसामान सडक र रेलबाट जलमार्गतर्फ तथा पर्ल नदी मुहानबाट पेइपु खाडीतर्फ स्थानान्तरण हुन सक्ने विज्ञहरूको अनुमान छ। दीर्घकालमा यसले आन्तरिक क्षेत्रमा नयाँ लगानी आकर्षित गर्दै नहर आसपासको औद्योगिक संरचनामा समेत परिवर्तन ल्याउन सक्नेछ।

पिङलु नहरको महत्व चीन–आसियान व्यापार तीव्र गतिमा विस्तार भइरहेको समयमा अझ बढेको छ। दुई पक्षबीचको वार्षिक व्यापार गत वर्ष पहिलोपटक एक ट्रिलियन अमेरिकी डलर नाघेको थियो। सन् २०२६ को पहिलो सात महिनामा चीन–आसियान व्यापार २४.७ प्रतिशत बढेर ७४४.४१ अर्ब डलर पुगेको छ, जुन सो अवधिको चीनको कुल वैदेशिक व्यापारको २१.८ प्रतिशत हो।

नयाँ मार्गबाट आसियानका वस्तु पश्चिमी चीनसम्म थप प्रभावकारी रूपमा पुग्न सक्नेछन् भने दक्षिणपश्चिम चीनमा उत्पादित सामान पेइपु खाडी हुँदै आसियान र अन्य विश्व बजारसम्म पुग्न सक्नेछन्। सिंगापुरजस्ता क्षेत्रीय पारवहन केन्द्रको भूमिकासमेत यसबाट विस्तार हुन सक्ने अपेक्षा गरिएको छ। दूरी घटाउने मात्र नभई ढुवानी लागत, समयको अनिश्चितता र आपूर्ति श्रृंखलासम्बन्धी जोखिम कम गर्ने क्षमताका कारण पिङलु नहर चीन र आसियानबीचको व्यापारिक सम्पर्कको महत्वपूर्ण नयाँ आधार बन्न सक्ने देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button