२ आश्विन २०८३, शुक्रबार

आज संघीय संसदका चार समितिको बैठक, रसुवा बाढीदेखि खानी विधेयकसम्म छलफल

ड्रागन मिडिया सम्वाददाता

संघीय संसदअन्तर्गतका चार संसदीय समितिको बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका बैठकमा अर्थतन्त्र, जलवायु परिवर्तन, विमानस्थल, खानी तथा खनिज र भोटेकोशी बाढीलगायत विषयमा छलफल हुँदैछ।

अर्थ समितिको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा रसुवा बाढीपछि मुलुकको अर्थतन्त्रमा परेको प्रभाव तथा जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिले तयार गरेको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ। विपदबाट अर्थतन्त्रमा परेको प्रभावसँगै जलवायु वित्तसम्बन्धी विषय संसदीय छलफलमा प्रवेश गर्न लागेको हो।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ। समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन तथा भ्रमणलगायत समसामयिक विषयमा छलफल गर्न आन्तरिक बैठक गर्ने कार्यसूची तय गरेको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ।

यसैगरी राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बिहान १०ः३० बजे बस्नेछ। समितिले गत भदौ १० गते भोटेकोशीलगायत नदीमा आएको बाढी, त्यसबाट उत्पन्न प्रभाव तथा जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा विज्ञहरूसँग छलफल गर्ने कार्यसूची तय गरेको छ।

आजका संसदीय समिति बैठकमा विपद र जलवायु परिवर्तनबाट उत्पन्न आर्थिक तथा सामाजिक असरदेखि विमानस्थलको अवस्था र प्राकृतिक स्रोतसम्बन्धी कानुनी व्यवस्थासम्मका विषय एकै दिन छलफलमा आउँदैछन्। संसद सचिवालयको सार्वजनिक तालिकाले पनि चारवटै समितिका बैठक आजका लागि तय भएको पुष्टि गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button