मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ, कारबाट ३३ लाख रुपैयाँ बरामद

ड्रागन मिडिया सम्वाददाता
मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। उनी सवार आफन्तको गाडीबाट ३३ लाख रुपैयाँ बरामद भएपछि घिमिरेलाई कार्यालयबाटै नियन्त्रणमा लिई घटनास्थलमा लगिएको हो।
सोमबार अपराह्न नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१–०३५ च २६८७ नम्बरको विद्युतीय कार निकोसेरास्थित अजिमा पेट्रोल पम्पनजिक जाँच गरिएको थियो। कारमा सवार भुवन ढुङ्गेल र उनकी श्रीमतीलाई पनि अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।
अख्तियारको दाबीअनुसार बरामद रकम घिमिरेले घुसबापत लिएर व्यवस्थापनका लागि ढुङ्गेललाई दिएका थिए। घिमिरेले भने घुस लिएको आरोप अस्वीकार गरेका छन्। रकम गणना र घटनास्थलको मुचुल्का तयार गर्ने प्रक्रिया चलिरहेकाले बरामद रकम तथा घटनाबारे आयोगको विस्तृत आधिकारिक विवरण आउन बाँकी छ।





