१७ कार्तिक २०८३, सोमबार

चीनले भोटेकोशी बाढीबारे तत्काल सूचना दिन सकेन : परराष्ट्र सचिव राई

ड्रागन मिडिया सम्वाददाता

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले गत भदौ १० गते आएको भोटेकोशी बाढीबारे चीनले नेपाललाई तत्काल सूचना दिन नसकेको बताएका छन्।

राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी तथा कालीगण्डकी क्षेत्रको विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले चिनियाँ पक्षले आफूलाई पनि बाढीबारे तत्काल जानकारी नभएकाले नेपाललाई सूचना दिन नसकेको जवाफ दिएको बताए। यस विषयमा आफूले चिनियाँ पक्षको ध्यानाकर्षण गराएको जानकारी पनि उनले समितिलाई दिए।

राईका अनुसार बाढीको प्रकृति र तीव्रताका कारण तत्काल सूचना आदानप्रदान हुन सकेन। चिनियाँ पक्षले आफ्ना नागरिकलाई समेत समयमै जानकारी दिन नसकेको बताएको उनले उल्लेख गरे। बाढी आएपछि पूर्वसूचना किन उपलब्ध भएन भन्ने प्रश्न उठ्नु स्वाभाविक भए पनि त्यसबेला सूचना दिन पर्याप्त समय नभएको उनको भनाइ थियो।

बाढीबारे जानकारी पाएपछि नेपालतर्फ तल्लो तटीय क्षेत्रमा प्रहरी परिचालन गरी ध्वनिविस्तारक यन्त्रबाट स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको उनले बताए। तर, कतिपयले आग्रह पालना नगरेको र बाढीको भयावह रूपको अनुमान गर्न नसकेको उनले समितिलाई जानकारी दिए।

बाढीपछि नेपाल र चीनबीच प्रभावित क्षेत्रको मौसमसम्बन्धी विवरण आदानप्रदानमा सहकार्य गर्ने सहमति भएको थियो। घटनाको प्रकृति र क्षतिबारे थप अध्ययन गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको थियो।

नेपालको इतिहासमा यस्तो ठूलो विनाशकारी विपद् विरलै आएको उल्लेख गर्दै सचिव राईले भविष्यमा जोखिम न्यूनीकरण र सूचना आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्ने बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button