२२ बुँदे साझा प्रतिबद्धतासहित सकियो प्रदेश अर्थमन्त्रीहरूको भेला

ड्रागन मिडिया सम्वाददाता
वीरेन्द्रनगरमा सोमबार आयोजित प्रदेश अर्थमन्त्रीहरूको भेला २२ बुँदे साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै सम्पन्न भएको छ। भेलाले वित्तीय सङ्घीयताको कार्यान्वयनमा सङ्घीय सरकार पर्याप्त प्रतिबद्ध नदेखिएको निष्कर्ष निकालेको छ।
प्रतिबद्धतापत्रमा संविधानले प्रदेशलाई दिएको अधिकार र बजेट सहज रूपमा हस्तान्तरण गर्न सङ्घीय सरकारलाई आग्रह गरिएको छ। सङ्घीय सरकारको केन्द्रीकृत प्रवृत्ति अन्त्य गरी प्रदेशको आर्थिक तथा प्रशासनिक अधिकार सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिइएको छ।
प्रदेशहरूले आफ्नै फजुल खर्च घटाउने र आन्तरिक आम्दानी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। वित्तीय सङ्घीयतालाई बलियो र जनमुखी बनाउन तीन तहका सरकारबीच अधिकार, स्रोत र जिम्मेवारीको स्पष्ट बाँडफाँट तथा प्रभावकारी समन्वय आवश्यक रहेको भेलाको निष्कर्ष छ।





