२ आश्विन २०८३, शुक्रबार

भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर हराएको प्रारम्भिक विवरण

ड्रागन मिडिया सम्वाददाता

नेपाल ट्रक यातायात व्यवसायी महासंघले भोटेकोशी बाढीपछि यातायात क्षेत्रमा कार्यरत ६७७ जना मजदुर अझै सम्पर्कविहीन रहेको र ५१५ वटा ट्रक तथा कन्टेनर हराएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। महासंघले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बिहीबार बसेको बैठकमा मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गरेको हो।

महासंघका अनुसार बाढीबाट प्रभावित क्षेत्रको पूर्ण विवरण संकलन भइनसकेकाले सम्पर्कविहीन मजदुर तथा हराएका ट्रक र कन्टेनरको संख्या अझ बढ्न सक्नेछ। प्रस्तुत विवरण प्रारम्भिक भएकाले सम्पर्कविहीन व्यक्तिको अवस्थाबारे खोज तथा प्रमाणीकरणपछि वास्तविक संख्या स्पष्ट हुने अपेक्षा गरिएको छ।

पूर्वाधार विकास मन्त्रालयले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन गर्न यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा समिति गठन गरेको छ। समितिलाई क्षतिको अवस्था अध्ययन गरी क्षतिपूर्तिको आधारसमेत समेटेर रायसुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेस गर्ने जिम्मेवारी दिइएको छ।

समितिमा पूर्वाधार विकास मन्त्रालय र मन्त्रीको सचिवालयका प्रतिनिधि, यातायात व्यवसायी तथा यातायात मजदुर संघ संगठनका प्रतिनिधि सहभागी छन्। नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ र महासचिव बद्रीप्रसाद चौलागाईंलगायत पनि समितिमा सदस्य रहेका छन्।

बाढीले यातायात क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको प्रारम्भिक विवरणले देखाएको छ। अब समितिको अध्ययनबाट सम्पर्कविहीन मजदुरको यकिन अवस्था, हराएका तथा क्षतिग्रस्त सवारीसाधनको वास्तविक संख्या, आर्थिक क्षतिको परिमाण र सम्भावित क्षतिपूर्तिको आधार थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button