कुकुरलाई पुलबाट नदीमा फ्याँकेको आरोपमा बझाङमा महिला पक्राउ

ड्रागन मिडिया सम्वाददाता
कुकुरमाथि दुर्व्यवहार गर्दै पुलबाट नदीमा फ्याँकेको आरोपमा प्रहरीले बझाङबाट एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३ पाडेसकी ४२ वर्षीया विमला देवी रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक विष्टका अनुसार रोकायालाई बिहीबार दिउँसो उनकै निवासबाट नियन्त्रणमा लिइएको हो। केही दिनअघि कुकुरमाथि दुर्व्यवहार गरी पुलबाट नदीमा फ्याँकिएको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे छानबिन शुरु गरेको थियो।
प्रहरीका अनुसार उक्त भिडियो करिब दुई हप्ता पुरानो भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। भिडियो सार्वजनिक भएपछि स्थानीय बासिन्दा तथा पशु अधिकारकर्मीहरूले घटनामा संलग्न व्यक्तिमाथि कारवाही गर्न र कुकुरको अवस्था पत्ता लगाउन माग गरेका थिए। प्रहरीले खोजी गरे पनि सम्बन्धित कुकुर भने अहिलेसम्म फेला पर्न सकेको छैन।
रोकायालाई हाल प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घटनाको वास्तविक परिस्थिति, भिडियो खिचिएको समय र स्थान तथा कुकुरको अवस्थाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।





