ऐतिहासिक लिगलिगे दौड पुनः सञ्चालनको माग संसदमा, तीन वर्षदेखि प्रतियोगिता अवरुद्ध
ड्रागन मिडिया सम्वाददाता
गोरखाको ऐतिहासिक लिगलिगे दौड प्रतियोगितालाई निरन्तरता दिनुपर्ने माग प्रतिनिधि सभामा उठेको छ। प्रतिनिधि सभा सदस्य कविन्द्र बुर्लाकोटीले नेपालको ऐतिहासिक, सांस्कृतिक तथा खेलकुद परम्परासँग जोडिएको प्रतियोगिता २०८० सालपछि सञ्चालन हुन नसकेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
प्रतिनिधि सभा बैठकमा बोल्दै बुर्लाकोटीले गोरखा र लमजुङको सिमानास्थित चेपेघाटदेखि लिगलिगकोटसम्मको ऐतिहासिक दौडलाई नेपालको साझा सांस्कृतिक सम्पत्तिका रूपमा संरक्षण गर्नुपर्ने बताए। करिब चार सय वर्ष पुरानो इतिहाससँग जोडिएको यो परम्पराले नेपालको राज्य निर्माण, स्थानीय संस्कृति र खेलकुदको विशिष्ट सम्बन्धलाई प्रतिनिधित्व गर्ने उनको भनाइ थियो।
लिगलिगकोटको ऐतिहासिक परम्पराअनुसार दौड जित्ने व्यक्तिलाई राजा चयन गर्ने अभ्यास रहेको मानिन्छ। बुर्लाकोटीले यस्तो ऐतिहासिक विशेषता विश्वमै दुर्लभ रहेको उल्लेख गर्दै लिगलिगे दौडलाई राष्ट्रिय पर्यटन, संस्कृति र खेलकुद विकासको महत्त्वपूर्ण आधार बनाउन सकिने धारणा राखे। उनले प्रतियोगिता रोकिएको विषयमा स्थानीय बासिन्दाले व्यक्त गरेको चिन्तासमेत संसदमा उठाएका छन्।
पालुङटार नगरपालिका–५ स्थित चेपेघाट दोभानबाट लिगलिगकोटसम्मको १३.८ किलोमिटर उकालो मार्गमा सञ्चालन हुने प्रतियोगिता २०६७ सालदेखि आधुनिक सांस्कृतिक खेल उत्सवका रूपमा आयोजना हुँदै आएको थियो। प्रत्येक वर्ष दशैंको फूलपाती आसपास सञ्चालन हुने प्रतियोगितामा स्थानीय तथा राष्ट्रियस्तरका धावकले सहभागिता जनाउने गरेका थिए। खुला र स्थानीय विधामा छुट्टाछुट्टै प्रतिस्पर्धा गराइने यस प्रतियोगिताले गोरखाको ऐतिहासिक पहिचान प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको थियो।
प्रतियोगिता अवरुद्ध हुनुको प्रमुख कारण आयोजक संस्थाबीचको समन्वय अभाव रहेको सार्वजनिक भएको छ। २०६७ सालदेखि लिगलिगकोट विकास अभियानले आयोजना गर्दै आएको प्रतियोगितालाई २०८१ सालमा पालुङटार नगरपालिकाले आफ्नो नेतृत्वमा सञ्चालन गर्न खोजेपछि दुवै पक्षबीच विवाद उत्पन्न भएको थियो। नगरपालिका र अभियानले छुट्टाछुट्टै मितिमा प्रतियोगिता आयोजना गर्ने तयारी गरे पनि अन्तिम समयमा दुवै पक्ष पछि हटेपछि त्यस वर्ष दौड हुन सकेन।
२०८२ सालमा भने जेन–जी आन्दोलनपछिको विषम राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै प्रतियोगिता आयोजना गरिएन। यस वर्ष पनि दशैं नजिकिँदै गर्दा प्रतियोगिता सञ्चालन हुने वा नहुने विषयमा निश्चित निर्णय सार्वजनिक भएको छैन।
लिगलिगकोटको इतिहास शाहवंशीय राज्य विस्तारको प्रारम्भिक चरणसँग जोडिएको छ। ऐतिहासिक विवरणअनुसार द्रव्य शाहले विसं १६१६ मा लिगलिगकोटमाथि अधिकार स्थापित गरेपछि दौडमार्फत राजा चयन गर्ने परम्परा अन्त्य भएको मानिन्छ। आधुनिक लिगलिगे दौड भने त्यही ऐतिहासिक स्मृतिलाई जीवन्त राख्ने उद्देश्यले पुनः शुरु गरिएको सांस्कृतिक खेल प्रतियोगिता हो।
कोरोना महामारीका कारण २०७७ सालदेखि लगातार तीन वर्ष प्रतियोगिता सञ्चालन हुन सकेको थिएन। त्यसपछि २०८० सालमा एघारौं संस्करण आयोजना गरिएको थियो। प्रतियोगिता पुनः सञ्चालन भए पनि त्यसले निरन्तरता पाउन नसक्दा ऐतिहासिक परम्पराको संरक्षण र संस्थागत व्यवस्थापनबारे प्रश्न उठेको छ।
लिगलिगे दौड केवल खेलकुद प्रतियोगिता नभई गोरखाको ऐतिहासिक पहिचान, स्थानीय पर्यटन र सांस्कृतिक सम्पदासँग जोडिएको उत्सव हो। यसको नियमित सञ्चालनका लागि पालुङटार नगरपालिका, लिगलिगकोट विकास अभियान तथा सम्बन्धित निकायबीच स्पष्ट जिम्मेवारी निर्धारण र दीर्घकालीन सहकार्य आवश्यक देखिएको छ।
प्रतिनिधि सभामा उठेको मागसँगै ऐतिहासिक लिगलिगे दौडलाई पुनः सञ्चालन गर्ने विषयमा स्थानीय सरकार र सरोकारवाला संस्थाहरूले कस्तो पहल गर्छन् भन्नेमा चासो बढेको छ।





