६ आश्विन २०८३, मंगलवार

एमाले बैठकमा नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्कियो

ड्रागन मिडिया सम्वाददाता

नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व, पार्टी पुनर्गठन, निर्वाचन समीक्षा र संगठन सञ्चालनको प्रक्रियालाई लिएर तीव्र बहस भएको छ। ललितपुरको भनिमण्डलमा सोमबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै निर्वाचनपछि पार्टीको अवस्था, जनतासँगको सम्बन्ध र नेतृत्व तहमा देखिएको मतभेदको समीक्षा गर्नुपर्ने बताएका छन्।

बैठकमा महासचिव शंकर पोखरेलले पार्टी जनताबाट किन टाढियो भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्। उनले अध्यक्षको नेतृत्वमा विगतमा महत्त्वपूर्ण काम भएको उल्लेख गर्दै पछिल्लो समय पार्टीको सन्देश जनतासम्म प्रभावकारी रूपमा पुग्न नसकेको धारणा राखेका छन्। पार्टी पुनर्गठनलाई अध्यक्ष परिवर्तनमा मात्र सीमित गरेर हेर्न नहुने उनको भनाइ छ। उनले अध्यक्षको राजनीतिक प्रतिवेदनको मूल भावलाई समर्थन गर्दै त्यसलाई थप परिमार्जन र संश्लेषण गरेर अघि बढ्नुपर्ने बताएका छन्।

उपमहासचिव योगेश भट्टराईले भने नेतृत्व परिवर्तनको विषय स्पष्ट रूपमा उठाएका छन्। बैठकमा मौखिक रूपमा विस्तृत धारणा राख्ने अवसर नपाएपछि उनले अध्यक्ष ओलीलाई आठ बुँदे लिखित धारणा बुझाएको बताइएको छ। भट्टराईले निर्वाचन समीक्षा, पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदन तथा कार्यकर्ता र जनताको भावनालाई आधार बनाएर नेतृत्व हस्तान्तरण आवश्यक रहेको धारणा राखेका छन्। स्थानीय तहको निर्वाचनसम्म अन्तरिम व्यवस्था गरी त्यसपछि विशेष महाधिवेशनमा जानुपर्ने प्रस्तावसमेत उनले अघि सारेका छन्।

केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले पार्टीले धरातलीय यथार्थ बुझ्न नसके गम्भीर क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन्। उनले नेतृत्व र संगठन दुवैले कार्यकर्ता तथा जनताको भावना बुझेर आफूलाई परिस्थितिअनुसार सच्याउनुपर्ने बताए। विगतमा ओलीलाई फुटबलका महान् खेलाडी पेलेसँग तुलना गर्दै दिएको अभिव्यक्तिको सान्दर्भिकता अब समाप्त भएको भन्दै उनले बैठकमै आफ्नो पुरानो भनाइ फिर्ता लिएको बताएका छन्।

केन्द्रीय सदस्य कर्ण थापाले पनि पार्टी रूपान्तरण आवश्यक रहेको धारणा राखेका छन्। उनले फरक मतलाई पर्याप्त स्थान नदिइएको भन्दै बैठकमा विरोध जनाए। पार्टीभित्र निर्णय प्रक्रिया र नेतृत्व सञ्चालनको शैलीमाथि प्रश्न उठाउँदै उनले वैचारिक तथा संगठनात्मक असहमति व्यक्त गर्न पाउने वातावरण सुनिश्चित हुनुपर्ने बताएका छन्।

केन्द्रीय सदस्य आनन्द पोखरेलले पार्टीभित्रको मतभेद तल्लो तहसम्म पुग्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा छलफलका लागि प्रस्तुत गर्न माग गरेका छन्। सचिवालयलाई केन्द्रीय कमिटीभन्दा पृथक संरचनाका रूपमा व्यवहार गर्न नहुने भन्दै उनले केन्द्रीय सदस्यहरूले समेत उक्त प्रतिवेदन अध्ययन र छलफल गर्न पाउनुपर्ने धारणा राखेका छन्।

बैठकमा सबै नेता भने नेतृत्व परिवर्तनको पक्षमा देखिएका छैनन्। सचिव महेश बस्नेतले ओलीविरुद्ध भएका प्रयास सफल नभएको दाबी गर्दै वर्तमान नेतृत्वको पक्षमा धारणा राखेका छन्। नेतृ रामकुमारी झाँक्रीले नेतृत्व परिवर्तनको बहसलाई मात्र केन्द्रमा राख्नु उचित नहुने संकेत गर्दै ओलीलाई हटाउने विषय ‘फेसन’ जस्तो बनेको टिप्पणी गरेकी छन्। उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलले पनि अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनको मूल भावप्रति समर्थन जनाउँदै त्यसलाई परिमार्जन गरेर पार्टी अघि बढ्नुपर्ने बताएका छन्।

बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनसहित नौ एजेन्डा राखिएका छन्। केन्द्रीय सदस्य मनोनयन, विभाग गठन, पोलिटब्युरो र स्थायी कमिटी गठन, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च र अनुशासनसम्बन्धी विषय पनि छलफलमा छन्। प्रत्येक केन्द्रीय सदस्यलाई पार्टी, अध्यक्षको प्रतिवेदन, जनतासँगको सम्बन्ध र समसामयिक विषयमा धारणा राख्न तीन मिनेटसम्मको समय दिइएको छ।

एमालेभित्रको अहिलेको बहस अध्यक्ष ओलीको निरन्तरता वा परिवर्तनमा मात्र सीमित देखिँदैन। निर्वाचनपछिको समीक्षा, संगठनात्मक पुनर्गठन, नेतृत्व हस्तान्तरण, आन्तरिक निर्णय प्रक्रिया र जनतासँग कमजोर बनेको सम्बन्ध कसरी सुधार गर्ने भन्ने प्रश्नसमेत बहसको केन्द्रमा आएका छन्। बैठक बुधबारसम्म चल्ने कार्यतालिका रहेकाले यी विषयमा पार्टीले लिने औपचारिक निर्णयले एमालेको आगामी संगठनात्मक दिशा थप स्पष्ट गर्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button