संयुक्त राष्ट्रसँघको ८१औँ महासभाको उच्चस्तरीय छलफलमा परराष्ट्रमन्त्री खनाल सहभागी

ड्रागन मिडिया सम्वाददाता
परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसँघको ८१औँ महासभाअन्तर्गत मंगलबार शुरु भएको उच्चस्तरीय आम छलफलको उद्घाटन सत्रमा सहभागी भएका छन्। न्यूयोर्कस्थित संयुक्त राष्ट्रसँघको मुख्यालयमा शुरु भएको उच्चस्तरीय छलफलमा विश्वका राष्ट्र तथा सरकार प्रमुख र अन्य उच्चस्तरीय प्रतिनिधिहरू सहभागी छन्।
नेपाली प्रतिनिधिमण्डलका तर्फबाट परराष्ट्रमन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसँघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायत अधिकारी उद्घाटन सत्रमा सहभागी भएका थिए।
८१औँ महासभाको उच्चस्तरीय सप्ताहका क्रममा परराष्ट्रमन्त्री खनालले विभिन्न उच्चस्तरीय बैठक, मन्त्रीस्तरीय छलफल तथा अन्य कार्यक्रमहरूमा सहभागिता जनाउने कार्यक्रम छ। उनले विभिन्न मुलुकका समकक्षी तथा संयुक्त राष्ट्रसँघका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गरी नेपालको कूटनीतिक सम्बन्ध, बहुपक्षीय सहकार्य र साझा चासोका विषयमा छलफल गर्नेछन्।
परराष्ट्रमन्त्री खनालले न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता पनि शुरु गरिसकेका छन्। उनले भुटान, जापान र पोल्यान्डका समकक्षी तथा युरोपेली आयोगका प्रतिनिधिसँग भेट गरी द्विपक्षीय सम्बन्ध, सहकार्य, जलवायु न्याय तथा नेपालमा हालैको विपदपछिको पुनःस्थापना र पुनर्निर्माणलगायत विषयमा छलफल गरेका छन्।
संयुक्त राष्ट्रसँघका अनुसार ८१औँ महासभाको उच्चस्तरीय आम छलफल सेप्टेम्बर २२ देखि २६ र सेप्टेम्बर २८ सम्म सञ्चालन हुनेछ। यस वर्षको छलफलमा शान्ति र सुरक्षा, दिगो विकास, जलवायु परिवर्तन, स्वास्थ्य, कृत्रिम बुद्धिमत्ता र बहुपक्षीय सहकार्यलगायत विश्वव्यापी मुद्दा प्रमुख रूपमा उठिरहेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागिता जनाउने कार्यक्रम छ। उनले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय आम छलफललाई सम्बोधन गर्ने तथा संयुक्त राष्ट्रसँघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।





