पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुँदै

ड्रागन मिडिया सम्वाददाता
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले बुधबारदेखि दुबई–पोखरा–दुबई मार्गमा नियमित उडान सुरु गर्ने भएको छ। विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउन नसकिरहेका बेला नयाँ उडान सेवाले पोखराको पर्यटन, व्यापार र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६ बजेर १५ मिनेटमा पोखरा अवतरण गर्ने र यात्रु लिएर साँझ ७ बजेर १५ मिनेटमा दुबई प्रस्थान गर्ने तालिका छ। विमानलाई पानीको फोहराले स्वागत गर्ने तयारी गरिएको छ। अध्यागमन, भन्सार, कार्गो तथा यात्रु व्यवस्थापनका लागि आवश्यक तयारी पूरा भएको विमानस्थल प्रशासनले जनाएको छ।
विसं २०७९ पुस १७ गते सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि केही अन्तर्राष्ट्रिय उडान भए पनि नियमित सेवाले निरन्तरता पाउन सकेको थिएन। फ्लाई दुबईको निर्धारित सेवासँगै पर्यटन व्यवसायीले पोखरामा विदेशी पर्यटकको पहुँच सहज हुने र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुने विश्वास व्यक्त गरेका छन्। पोखरा आउने र यहाँबाट दुबई जाने यात्रुलाई खादा तथा मालाले स्वागत र बिदाइ गर्ने तयारीसमेत गरिएको छ।
पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले यात्रुको जाँचपास, राजस्व सङ्कलन तथा वैध व्यापार सहजीकरणका लागि आवश्यक व्यवस्था मिलाइएको जानकारी दिएका छन्। विमानस्थलको सुरक्षाबारे जिल्ला सुरक्षा समितिले निरीक्षण गरेको छ। प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार उडान सञ्चालनका लागि आवश्यक सुरक्षा प्रबन्ध पूरा गरिएको छ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले दुबई विश्वका विभिन्न शहर जोड्ने प्रमुख हवाई केन्द्र भएकाले नयाँ उडानले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्न मद्दत गर्ने बताए। रोजगारी र अध्ययनका लागि संयुक्त अरब इमिरेट्स जाने नेपाली यात्रुलाई पनि पोखराबाटै उडान उपलब्ध हुँदा यात्रा सहज हुने अपेक्षा गरिएको छ।




