कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत बुधबार देशभर पालिका अधिवेशन गर्दैछ। स्थानीय तहमा पार्टीको नयाँ सांगठनिक नेतृत्व चयन गर्ने प्रक्रियाअनुसार पालिका अधिवेशन हुन लागेको हो। बाढीपहिरोबाट प्रभावित रसुवामा भने विशेष परिस्थितिका कारण अधिवेशन केही दिनपछि गर्ने तयारी छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केही स्थानबाहेक देशभरका वडामा नेतृत्व चयन सम्पन्न भइसकेको छ। बाढीपहिरो प्रभावित नुवाकोट र धादिङका सबै वडामा मङ्गलबार अधिवेशन सकिएको समितिले जनाएको छ। मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका बाँकी केही वडामा पनि अधिवेशन सम्पन्न भएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार रसुवामा बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिलाई ध्यानमा राखेर पालिका अधिवेशनको समय केही दिनपछि सार्ने तयारी गरिएको हो।
पार्टीको नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार पालिका अधिवेशनबाट सभापतिसहित पाँच पदाधिकारी निर्वाचित हुनेछन्। तीमध्ये एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव रहने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित कार्यसमिति सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने प्रावधान छ।
पालिका अधिवेशन कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको नेतृत्व पुनर्गठन गर्ने प्रक्रियाको एक चरण हो।




