परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका समकक्षीबीच द्विपक्षीय सहकार्य विस्तारबारे छलफल

ड्रागन मिडिया सम्वाददाता
परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिस आदमबीच संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा नेपाल–माल्दिभ्स सम्बन्ध सुदृढ बनाउने तथा क्षेत्रीय र बहुपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्री खनालको सचिवालयले जनाएको छ।
मन्त्री खनालले नेपालमा हालै आएको बाढीपछि माल्दिभ्स सरकार र जनताले व्यक्त गरेको समवेदना, ऐक्यबद्धता तथा प्रदान गरेको मानवीय सहयोगप्रति आभार व्यक्त गरे। दुवै मन्त्रीले उच्चस्तरीय भ्रमणको आदानप्रदान बढाउने तथा पर्यटन, रोजगारी र शिक्षाका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे विचार आदानप्रदान गरे।
भेटवार्तामा जलवायु परिवर्तन, विकासका लागि वित्तीय स्रोत परिचालन र दिगो विकासका विषय पनि उठेका थिए। जलवायुजन्य जोखिम सामना गर्ने दुवै देशका साझा चासोलाई ध्यानमा राख्दै यी क्षेत्रमा सहकार्य सुदृढ गर्ने विषयमा छलफल भएको सचिवालयले जनाएको छ।
दुवै मन्त्रीले संयुक्त राष्ट्रसङ्घ र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लगायत बहुपक्षीय मञ्चमा साझा हितका विषयमा समन्वय र सहकार्यलाई निरन्तरता दिने सहमति जनाए। भेटवार्तामा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित नेपाली प्रतिनिधिमण्डलका सदस्य सहभागी थिए।




