७ आश्विन २०८३, बुधबार

संयुक्त राष्ट्रसङ्घ महासभाको उच्चस्तरीय बहस शुरु, नेपालले जलवायु न्याय र विश्व शान्तिका मुद्दा उठाउने

ड्रागन मिडिया सम्वाददाता

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत उच्चस्तरीय राजनीतिक बहस न्युयोर्कमा शुरु भएको छ। विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा उच्चस्तरीय प्रतिनिधिहरू सहभागी हुने बहसमा नेपालले जलवायु न्याय, विश्व शान्ति, दिगो विकास र समावेशिताका विषयलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने तयारी गरेको छ।

यस वर्षको महासभा ‘विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापन : सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ’ भन्ने मूल नारामा केन्द्रित छ। उच्चस्तरीय बहसमा विश्वव्यापी युद्ध र द्वन्द्व, आणविक हतियारको जोखिम, गरिबी, जलवायु सङ्कट तथा त्यसबाट उत्पन्न मानवीय र पूर्वाधारसम्बन्धी क्षतिका विषयमा छलफल हुने कार्यक्रम छ।

नेपालका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डलले उच्चस्तरीय राजनीतिक बहसमा सहभागिता जनाएको छ। प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित भ्रमण दलका सदस्य तथा स्थायी नियोगका कर्मचारी सहभागी छन्।

प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न महासभालाई सम्बोधन गर्ने कार्यतालिका छ। सम्बोधनमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका चुनौती, जलवायु न्याय तथा हानि र नोक्सानी कोषका विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।

हिमाली मुलुक नेपालले जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने, हिमताल फुट्ने, बाढीपहिरो र अन्य प्राकृतिक विपदका जोखिम सामना गरिरहेको छ। यस्तो अवस्थामा महासभामा नेपालको सहभागिताले जलवायु सङ्कटबाट प्रभावित मुलुकका साझा सरोकारलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ।

नेपाली प्रतिनिधिमण्डलले विश्व शान्ति, असंलग्न परराष्ट्र नीति, दिगो विकासका लक्ष्य, लैङ्गिक सहभागिता तथा समावेशिताका विषयमा पनि नेपालको धारणा प्रस्तुत गर्ने जनाइएको छ। बहुपक्षीय सहकार्य र अन्तर्राष्ट्रिय संस्थाहरूको प्रभावकारिताबारे विश्वव्यापी बहस भइरहेका बेला संयुक्त राष्ट्रसङ्घको यो महासभालाई विशेष महत्त्वका साथ हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button