७ आश्विन २०८३, बुधबार

बाढी पुनरुत्थानका लागि अमेरिकाद्वारा नेपाललाई थप ३ करोड १० लाख डलर सहयोगको घोषणा

ड्रागन मिडिया सम्वाददाता

अमेरिकाले विनाशकारी बाढीपहिरोबाट प्रभावित नेपालको पुनरुत्थान, पूर्वाधार पुनर्निर्माण र भविष्यका विपदसँग जुध्ने क्षमता विकासका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने योजना सार्वजनिक गरेको छ। अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले मंगलबार न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भएको भेटमा नयाँ सहयोग योजनाको जानकारी गराएकी हुन्।

अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रस्तावित सहयोगमध्ये १ करोड डलर बाढीले क्षतिग्रस्त बनाएका महत्त्वपूर्ण यातायात पूर्वाधारको पुनर्निर्माणमा खर्च गरिनेछ। यसअन्तर्गत अमेरिकी कम्पनीमार्फत स्थायी पुल निर्माण गर्ने योजना छ। उक्त सहयोग कार्यान्वयनका लागि अमेरिकी कंग्रेससँग आवश्यक सहकार्य गरिने जनाइएको छ।

त्यसैगरी बाढीप्रभावित समुदायको तत्कालीन तथा मध्यमकालीन आवश्यकतालाई सम्बोधन गर्न थप ८० लाख डलर छुट्याइएको छ। यो रकम खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा, अस्थायी आश्रय, संरक्षण, जीविकोपार्जन र आगामी जाडोयामका लागि आवश्यक सहयोगमा परिचालन गर्ने योजना रहेको छ।

अमेरिकाले भविष्यमा हुन सक्ने प्राकृतिक विपदपछिको खोज, उद्धार तथा पुनरुत्थान कार्यमा प्रयोग गर्न अमेरिकी प्रविधिबाट निर्मित ड्रोन खरिदका लागि थप १ करोड ३० लाख डलर उपलब्ध गराउने योजना पनि सार्वजनिक गरेको छ। यसले दुर्गम भूगोल, अवरुद्ध सडक तथा जोखिमपूर्ण क्षेत्रमा विपद प्रतिकार्यका लागि आवश्यक प्राविधिक क्षमता विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपालले यसअघि अन्तर्राष्ट्रिय साझेदारहरूसँग उच्च क्षमताका ड्रोन, बेलिब्रिज, विशेष खोज तथा उद्धार उपकरण र अन्य प्राविधिक सामग्रीको आवश्यकता औपचारिक रूपमा प्रस्तुत गरेको थियो। नयाँ अमेरिकी सहयोग योजनामा पुल निर्माण र ड्रोन खरिदलाई प्राथमिकता दिइनुले नेपालले पहिचान गरेका केही महत्त्वपूर्ण प्राविधिक आवश्यकतासँग सहयोगको क्षेत्र मेल खाएको देखिन्छ।

नयाँ घोषणासँगै नेपालको बाढी प्रतिकार्य तथा पुनरुत्थानका लागि अमेरिकाले घोषणा गरेको कुल सहयोग ३ करोड ६० लाख डलरभन्दा बढी पुगेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। यद्यपि, नयाँ सहयोगका विभिन्न कार्यक्रमको कार्यान्वयन प्रक्रिया, रकम परिचालन र सामग्री हस्तान्तरणको विस्तृत समयतालिका सार्वजनिक हुन बाँकी छ।

भेटका क्रममा उपसचिव हुकरले बाढीबाट ज्यान गुमाएका व्यक्तिका परिवार तथा प्रभावित समुदायप्रति अमेरिकी सरकारका तर्फबाट सहानुभूति व्यक्त गरेकी थिइन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार बाढीपछि करिब ७० अमेरिकी नागरिक अझै सम्पर्कविहीन छन्।

परराष्ट्रमन्त्री खनाल र उपसचिव हुकरबीचको भेट संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा उच्च अधिकारीहरू न्युयोर्कमा भेला भएका बेला भएको हो। प्राकृतिक विपदपछिको पुनरुत्थानमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने नेपालको प्रयासका सन्दर्भमा यो सहयोग घोषणा महत्त्वपूर्ण छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button