७ आश्विन २०८३, बुधबार

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता, बाढी पुनर्निर्माणमा सहकार्यबारे छलफल

ड्रागन मिडिया सम्वाददाता

परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, हालैको भोटेकोशी बाढीपछिको राहत तथा पुनर्निर्माण र आगामी सहकार्यका विषयमा छलफल भएको हो।

न्युयोर्कस्थित नेपालको स्थायी नियोगका अनुसार भेटवार्तामा बाढीबाट प्रभावित समुदायको पुनःस्थापना, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा पुनरुत्थानका प्रयासमा अमेरिकी सहयोगलाई निरन्तरता दिने विषयमा विचार आदानप्रदान भएको थियो।

भेटवार्ता बाढी पुनरुत्थानका लागि अमेरिकाले नेपाललाई थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने योजना सार्वजनिक गरेको सन्दर्भमा भएको हो। अमेरिकी विदेश मन्त्रालयले प्रस्तावित सहयोगअन्तर्गत स्थायी पुल निर्माण, प्रभावित समुदायका लागि आधारभूत सेवा तथा भविष्यका विपदमा खोज, उद्धार र पुनरुत्थान कार्यमा प्रयोग हुने ड्रोन खरिदलाई प्राथमिकता दिएको जनाएको छ।

भेटमा परराष्ट्रसचिव अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित दुवै देशका उच्च अधिकारीहरूको सहभागिता थियो।

भोटेकोशी बाढीपछि राहतबाट पुनर्निर्माणतर्फ अघि बढिरहेको नेपालका लागि क्षतिग्रस्त यातायात सञ्जाल पुनःस्थापना, प्रभावित परिवारको जीविकोपार्जन र भविष्यका विपदसँग जुध्ने क्षमता विकास प्रमुख आवश्यकता बनेका छन्। यही सन्दर्भमा भएको द्विपक्षीय भेटले घोषित सहयोगलाई कार्यान्वयनमा लैजाने तथा नेपाल–अमेरिका सहकार्यलाई निरन्तरता दिने विषयलाई प्राथमिकतामा राखेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button