विदेशमा व्यवसाय गर्ने चिनियाँ कम्पनीका लागि एकाधिकारविरोधी अनुपालन निर्देशिका संशोधन गर्दै चीन

ड्रागन मिडिया समाचार कक्ष
चीनले विदेशमा लगानी, व्यापार तथा व्यवसाय सञ्चालन गर्ने आफ्ना कम्पनीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धा कानुनसम्बन्धी जोखिमबाट जोगाउन एकाधिकारविरोधी अनुपालन निर्देशिका संशोधन गर्ने प्रक्रिया शुरु गरेको छ। चीनको बजार नियमनसम्बन्धी राज्य प्रशासनले मंगलबार संशोधित निर्देशिकाको मस्यौदा सार्वजनिक गर्दै सेप्टेम्बर २९ सम्म सरोकारवालाबाट सुझाव मागेको हो।
सन् २०२१ मा जारी निर्देशिकालाई अद्यावधिक गर्न लागिएको हो। पछिल्ला पाँच वर्षमा प्रमुख अर्थतन्त्रहरूले प्रतिस्पर्धा कानुन, डिजिटल बजारको नियमन तथा सीमापार कम्पनी अधिग्रहणसम्बन्धी समीक्षा प्रक्रियामा गरेका परिवर्तनलाई नयाँ मस्यौदामा समेटिएको छ। चिनियाँ कम्पनीको अन्तर्राष्ट्रिय विस्तारसँगै विभिन्न देशमा उनीहरूले सामना गर्नुपर्ने कानुनी दायित्व थप जटिल बनेको नियामक निकायको भनाइ छ।
संशोधित मस्यौदाले एकाधिकारसम्बन्धी सम्झौता, बजारमा प्रभुत्वको दुरुपयोग र कम्पनी गाभ्ने तथा अधिग्रहण गर्ने प्रक्रियामा डिजिटल अर्थतन्त्रसँग सम्बन्धित जोखिमलाई विशेष ध्यान दिएको छ। युरोपेली सङ्घ, अमेरिका र जर्मनीलगायतका बजारमा कम्पनी गाभ्ने प्रस्ताव अनिवार्य रूपमा नियामक निकायमा दर्ता गर्नुपर्ने पछिल्ला मापदण्डबारे पनि जानकारी समावेश गरिएको छ।
मस्यौदाले चिनियाँ कम्पनीलाई विदेशमा लगानी गर्दा प्रतिस्पर्धा कानुन मात्र नभई विदेशी लगानीको सुरक्षा समीक्षा तथा विदेशी अनुदानसम्बन्धी नियमनमा समेत ध्यान दिन सचेत गराएको छ। विभिन्न देशका कानुनी व्यवस्थालाई सामान्य रूपमा उल्लेख गर्ने पुरानो पद्धतिको सट्टा सम्बन्धित बजारका नियम र जोखिम स्पष्ट रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ।
चीनको बजार नियमनसम्बन्धी राज्य प्रशासनका अनुसार अन्तर्राष्ट्रिय व्यापार विस्तार र चिनियाँ कम्पनीको विदेश जाने क्रम तीव्र बनेको छ। तर, केही प्रमुख उद्योग तथा कम्पनीले विदेशी बजारमा एकाधिकारविरोधी अनुसन्धान र मुद्दा सामना गरिरहेका छन्। यस्तो अवस्थामा नयाँ निर्देशिकाले कम्पनीलाई लगानी वा अधिग्रहणको निर्णय गर्नुअघि सम्भावित जोखिम पहिचान गर्न सहयोग पुर्याउने प्रशासनको अपेक्षा छ।
ह्वाछियाओ विश्वविद्यालयको सामुद्रिक रेशममार्ग संस्थानका प्राध्यापक हु छिमुले संशोधित व्यवस्था व्यावहारिक व्यवसायिक अवस्थासँग बढी सम्बन्धित रहेको बताएका छन्। उनका अनुसार युरोपेली सङ्घ र अमेरिका चिनियाँ कम्पनीका लागि महत्त्वपूर्ण व्यापारिक बजार हुनुका साथै प्रतिस्पर्धा कानुनसम्बन्धी अनुसन्धान र मुद्दाको जोखिम भएका क्षेत्र पनि हुन्। ती बजारका नियम स्पष्ट हुँदा कम्पनीलाई पूर्वतयारी गर्न र सम्भावित क्षति घटाउन सहयोग पुग्न सक्ने उनको धारणा छ।
फुदान विश्वविद्यालयको चीन–युरोप सम्बन्ध केन्द्रका उपनिर्देशक चियान चुनबोले युरोपमा प्रतिस्पर्धा कानुनको कार्यान्वयन र कम्पनी गाभ्ने प्रक्रियाको समीक्षा थप कडा बन्दै गएको उल्लेख गरेका छन्। उनले युरोपमा लगानी वा कम्पनी अधिग्रहण गर्ने योजना बनाएका चिनियाँ व्यवसायले सम्बन्धित कानुनी व्यवस्था पहिल्यै अध्ययन गर्नुपर्नेमा जोड दिएका छन्।
चीनको अन्तर्राष्ट्रिय व्यापार सङ्घका वरिष्ठ अनुसन्धानकर्ता ली योङले संशोधित मस्यौदालाई विदेशमा व्यवसाय विस्तार गर्न प्रोत्साहन दिने नीतिबाट कानुनी अनुपालनसहित गुणस्तरीय अन्तर्राष्ट्रिय विस्तारमा जोड दिने प्रयासका रूपमा व्याख्या गरेका छन्। निर्देशिकासँगै कम्पनीको वास्तविक अनुपालन क्षमता विकास गर्न थप सहयोगी व्यवस्था आवश्यक पर्ने उनको भनाइ छ।
नयाँ मस्यौदामा कानुनी उपचार, अधिकार संरक्षण र अनुपालनसम्बन्धी परामर्शका लागि छुट्टै व्यवस्था प्रस्ताव गरिएको छ। कम्पनीहरूले आफ्नै जोखिम मूल्याङ्कन गर्न सक्ने जाँचसूची, अनुपालन व्यवस्थापन प्रणाली निर्माणका मुख्य विषय तथा एकाधिकारविरोधी मुद्दा परेमा अपनाउनुपर्ने प्रक्रियासमेत समावेश गरिएको छ। सुझाव सङ्कलनपछि अन्तिम रूप दिइने निर्देशिकाले चिनियाँ कम्पनीलाई विदेशी बजारका कानुनी दायित्व बुझेर व्यवसाय सञ्चालन गर्न मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।





