७ आश्विन २०८३, बुधबार

चीन–अमेरिका युवा आदानप्रदानमा नयाँ गति, निर्धारित समयअघि नै ५० हजार अमेरिकी युवाले गरे चीन भ्रमण

ड्रागन मिडिया समाचार कक्ष

चीन र अमेरिकाबीच युवा तथा विद्यार्थी आदानप्रदान विस्तार गर्ने चिनियाँ पहलले निर्धारित समयभन्दा अगावै लक्ष्य पूरा गरेको छ। सन् २०२३ नोभेम्बरमा चीनले पाँच वर्षभित्र ५० हजार अमेरिकी युवालाई अध्ययन तथा आदानप्रदानका लागि आमन्त्रण गर्ने घोषणा गरेको थियो। चीनको शिक्षा मन्त्रालयका अनुसार उक्त लक्ष्य यस वर्ष साढे दुई वर्षअघि नै पूरा भएको छ।

पहलअन्तर्गत अमेरिकाका सबै ५० राज्य र वासिङ्टन डीसीबाट ५० हजारभन्दा बढी युवाले चीन भ्रमण गरेका छन्। उनीहरूले चीनको मुख्य भूमिमा रहेका सबै ३१ प्रान्तीयस्तरका क्षेत्रसँगै हङकङ र मकाओमा सांस्कृतिक अनुभव, भाषा अध्ययन, शैक्षिक कार्यक्रम, विज्ञान तथा प्रविधि र खेलकुदसम्बन्धी गतिविधिमा सहभागिता जनाएका छन्। चीनको शिक्षा मन्त्रालयले युवा आदानप्रदानलाई अल्पकालीन भ्रमणमा सीमित नराखी दीर्घकालीन सहकार्यमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएको छ।

यस वर्ष आयोजित चीन–अमेरिका युवा मैत्री समुद्री यात्राले कार्यक्रमको व्यावहारिक पक्षलाई उजागर गरेको छ। हङकङबाट निङ्पो हुँदै साङहाई पुगेको जहाजमा दुवै देशका दश–दश विश्वविद्यालय विद्यार्थीले समुद्री अध्ययन, वैज्ञानिक गतिविधि र सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएका थिए। उनीहरूले विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिको भूमिका निर्वाह गर्दै समुन्द्रमा पारो प्रदूषण नियन्त्रण गर्ने विषयमा नमुना वार्तासमेत गरेका थिए।

यात्रामा सहभागी छिङ्ह्वा विश्वविद्यालयकी तत्कालीन विद्यार्थी प्रतिनिधि चोउ सिनयीले कार्यक्रमले संयुक्त रूपमा समस्या समाधान गर्ने अभ्याससँगै व्यक्तिगत मित्रता विकास गर्ने अवसर दिएको बताएकी छन्। कोलम्बिया विश्वविद्यालयकी विद्यावारिधि शोधार्थी मेरिडिथ काइमले पनि यस पहलले दुई देशका युवाबीच प्रत्यक्ष सम्बन्ध स्थापना गर्न सहयोग पुर्‍याएको उल्लेख गरेकी छन्।

चीनको रेनमिन विश्वविद्यालयका प्राध्यापक दियाओ दामिङका अनुसार लक्ष्य समयअघि नै पूरा हुनुले अमेरिकी युवामा चीनलाई प्रत्यक्ष रूपमा बुझ्ने रुचि रहेको संकेत गर्छ। अमेरिका–चीन युवा तथा विद्यार्थी आदानप्रदान सङ्घका संस्थापक डेभिड चोङले यसलाई सङ्ख्यात्मक उपलब्धिभन्दा बढी दीर्घकालीन सम्बन्ध निर्माण गर्ने अवसरका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार भ्रमणबाट फर्किएका कतिपय अमेरिकी विद्यार्थीले चिनियाँ भाषा अध्ययन शुरु गरेका छन् भने केहीले विद्यालय तथा विश्वविद्यालयबीच थप आदानप्रदानका कार्यक्रम अघि बढाएका छन्।

अमेरिकी विद्यार्थीलाई चीन भ्रमण गराउने संस्था नोइस चाइनाकी संस्थापक वाङ यिच्येले भ्रमणप्रति विद्यार्थीको आकर्षण बढेको बताएकी छन्। उनका अनुसार हार्वर्ड विश्वविद्यालयका करिब १६० विद्यार्थी सहभागी हुने एउटा कार्यक्रमका सबै स्थान एक मिनेटभन्दा कम समयमा भरिएका थिए। चीन पुगेका विद्यार्थीले आफ्ना साथी तथा परिवारलाई पनि भ्रमण गर्न प्रोत्साहित गर्ने गरेको उनले उल्लेख गरेकी छन्।

युवा आदानप्रदानको वर्तमान विस्तारलाई सन् १९७१ को ऐतिहासिक टेबलटेनिस कूटनीतिसँग पनि जोडिएको छ। त्यसबेला अमेरिकी टेबलटेनिस टोलीको चीन भ्रमणले दुई देशबीच सम्बन्ध सामान्यीकरणको वातावरण बनाउन भूमिका खेलेको थियो। त्यस घटनाको ५५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष दुवै देशमा स्मृति कार्यक्रम आयोजना गरिएका छन्। सन् १९७१ को अमेरिकी टोलीकी सबैभन्दा कान्छी सदस्य जुडी होआरफ्रोस्ट पनि अप्रिलमा चीन फर्किएकी थिइन्। उनले युवाहरूलाई प्रत्यक्ष भेटघाटको अवसर दिनु आपसी समझदारी विकासका लागि महत्त्वपूर्ण रहेको बताएकी छन्।

खेलकुदबाहेक सांस्कृतिक तथा प्राविधिक भ्रमणले पनि युवा सम्बन्ध विस्तार गरेका छन्। अमेरिकी विद्यार्थीले चीनका ऐतिहासिक स्थल, परम्परागत चिकित्सा, सुलेखन तथा सांस्कृतिक सम्पदासँग परिचित हुने अवसर पाएका छन्। बैदुका प्रविधि केन्द्र, साओमीको सवारीसाधन कारखाना र बेइजिङको हाइड्रोजन ऊर्जा प्रदर्शन क्षेत्रको भ्रमणले उनीहरूलाई चीनको समकालीन औद्योगिक तथा प्राविधिक विकासबारे प्रत्यक्ष जानकारी दिएको छ।

बेइजिङको हाइड्रोजन ऊर्जा प्रदर्शन क्षेत्र भ्रमण गरेका अमेरिकी विद्यार्थी टाइ डिभिटोले हरित विकासमा दुई देशले आआफ्ना क्षमता उपयोग गर्दै सहकार्य गर्न सक्ने अपेक्षा व्यक्त गरेका छन्। अमेरिकी लेखक रेबेका फानिनले पनि चीनको प्रविधि क्षेत्रप्रति अन्तर्राष्ट्रिय दृष्टिकोण परिवर्तन भइरहेको उल्लेख गरेकी छन्।

बेइजिङ विश्वविद्यालयको विश्वव्यापी सहकार्य तथा समझदारी संस्थानका कार्यकारी निर्देशक वाङ तोङले राष्ट्रप्रमुखस्तरमा भएका समझदारीले दुई देशबीच जनस्तरीय सम्पर्क र व्यावहारिक सहकार्यलाई निरन्तरता दिने आधार तयार गरेको बताएका छन्। चीनको शिक्षा मन्त्रालयले आगामी दिनमा गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय र अन्य सरोकारवालाको सहभागिता बढाउँदै युवा आदानप्रदानलाई स्थायी सहकार्यका रूपमा विकास गर्ने जनाएको छ।

जर्ज एच डब्ल्यू बुस फाउन्डेसन फर अमेरिका–चाइना रिलेसन्सका अध्यक्ष डेभिड फायरस्टाइनले चीनले युवा संवाद विस्तारका लागि पहल गरिरहेको उल्लेख गर्दै अमेरिकाबाट पनि थप प्रयासको अपेक्षा व्यक्त गरेका छन्। अमेरिका–चीन सम्बन्धसम्बन्धी राष्ट्रिय समितिकी उपाध्यक्ष जान बेरिसले एकअर्काको देश प्रत्यक्ष रूपमा हेर्ने र त्यहाँका नागरिकसँग संवाद गर्ने अवसरले युवालाई आफ्नै बुझाइ निर्माण गर्न सहयोग पुर्‍याउने बताएकी छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button