७ आश्विन २०८३, बुधबार

कांग्रेसको काठमाडौँ महानगर अधिवेशन शुरु

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसको 15औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन बुधबार शुरु भएको छ। पार्टीका महामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा अधिवेशन शुरु भएको हो।

कांग्रेसले स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा बुधबार देशभर पालिका तहका अधिवेशन सञ्चालन गरिरहेको छ। अधिकांश वडामा नेतृत्व चयन सम्पन्न भएपछि महाधिवेशन प्रक्रिया पालिका तहमा प्रवेश गरेको हो। कांग्रेसको आधिकारिक वेबसाइटले पनि असोज 7 मा पालिका अधिवेशनको कार्यक्रम रहेको जनाएको छ।

नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार पालिका अधिवेशनबाट सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव गरी पाँच पदाधिकारी निर्वाचित हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित कार्यसमिति सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने प्रावधान छ।

काठमाडौँ महानगर समितिमा हाल नीलकाजी शाक्य सभापति छन्। जारी अधिवेशनले महानगरमा पार्टीको नयाँ नेतृत्व र कार्यसमिति चयन गर्नेछ। पालिका तहका अधिवेशन सम्पन्न भएपछि कांग्रेसको 15औँ महाधिवेशन प्रक्रिया थप माथिल्लो सांगठनिक तहका अधिवेशनतर्फ अघि बढ्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button