मन्त्री पुन र चिनियाँ राजदूत चाङ माओमिङद्वारा चिनियाँ डीएनए तथा फरेन्सिक विज्ञको कामको अवलोकन

ड्रागन मिडिया सम्वाददाता
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले बुधबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको भ्रमण गरी रसुवा बाढीमा मृत्यु भएका तथा बेपत्ता व्यक्तिको पहिचानमा सहयोग गरिरहेका चिनियाँ डीएनए तथा फरेन्सिक विज्ञहरूको कामको अवलोकन गरेका छन्।
ललितपुरको खुमलटारस्थित नास्टमा चिनियाँ विशेषज्ञले नेपाली प्राविधिक टोलीसँग सहकार्य गरी डीएनए परीक्षण तथा पीडितको पहिचानसम्बन्धी काम गरिरहेका छन्। निरीक्षणका क्रममा मन्त्री पुनले आफन्त गुमाएका परिवारलाई उनीहरूको प्रियजनको अवस्थाबारे जानकारी दिन डीएनए तथा फरेन्सिक परीक्षण अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै परीक्षण प्रक्रियालाई प्रभावकारी र तीव्र बनाउन आग्रह गरे।
मन्त्री पुनले विपद्का कारण सबै शव पूर्ण अवस्थामा प्राप्त हुन नसक्ने परिस्थितिमा शरीरको सानो अंशबाट समेत पहिचान स्थापित गर्न सकिने भएकाले डीएनए परीक्षण पीडित परिवारका लागि विशेष महत्त्वको रहेको बताए। नमुना सङ्कलनदेखि प्रयोगशालासम्म सुरक्षित रूपमा पुर्याउने प्रक्रिया संवेदनशील रहेको उल्लेख गर्दै उनले आवश्यक नमुना यथाशीघ्र उपलब्ध गराउन प्रयास गरिने बताए। उनले नेपाल प्रहरीको डीएनए परीक्षण प्रयोगशालाको क्षमता ठूलो रहेको तर अन्य सम्बन्धित प्रयोगशालाको क्षमता तुलनात्मक रूपमा सीमित रहेको पनि जानकारी दिए।
राजदूत चाङ माओमिङले विपद्पछिको उद्धार, राहत तथा मृतक र बेपत्ता व्यक्तिको पहिचानमा सहयोग गर्न नेपालमा खटिएका चिनियाँ विशेषज्ञहरूको कामको प्रशंसा गर्दै नेपाललाई विपद्का असरबाट बाहिर आउन चीनले आवश्यक सहयोग जारी राख्ने बताए। तीन साताभन्दा बढी समयदेखि नेपालमा कार्यरत चिनियाँ टोलीलाई आवश्यक सहयोग र सहजीकरण गरेकोमा उनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, नास्ट र सम्बन्धित नेपाली निकायप्रति आभार व्यक्त गरे।
चिनियाँ विशेषज्ञका लागि प्रयोगशाला स्थापना तथा प्राविधिक काममा नेपाली पक्षले पुर्याएको सहयोगको प्रशंसा गर्दै राजदूत चाङले चिनियाँ उपकरण, कार्यविधि र प्राविधिक दक्षतालाई नेपाली विशेषज्ञसँगको सहकार्यमा प्रयोग गरिएको बताए। नेपाल र चीनको संयुक्त प्रयासबाट विपद् प्रभावित परिवारलाई सहयोग गर्नुका साथै मृतक तथा बेपत्ता व्यक्तिको पहिचानलाई थप प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो।
राजदूत चाङले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र नास्टसँग आगामी दिनमा समेत नजिकको सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले चीनले नेपालको विपद् प्रतिकार्य र पुनःस्थापनामा सहयोग जारी राख्ने बताउँदै वैज्ञानिक तथा प्राविधिक सहकार्यले नेपाल चीन मित्रतालाई थप सुदृढ बनाउन योगदान गर्ने धारणा राखे।





