७ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री शाहले बिहीबार राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार संयुक्त राष्ट्रसंघको 81औँ महासभाको उच्चस्तरीय आमबहसलाई सम्बोधन गर्ने भएका छन्। नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क गएका प्रधानमन्त्री शाहको सम्बोधन सेप्टेम्बर 24 का लागि निर्धारित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्रसंघको आधिकारिक कार्यक्रमअनुसार 81औँ महासभाको आमबहस सेप्टेम्बर 22 देखि 26 सम्म र सेप्टेम्बर 28 मा सञ्चालन हुनेछ।

प्रधानमन्त्री शाह बिहीबार न्युयोर्क समयअनुसार दिउँसो शुरु हुने महासभाको सत्रमा सहभागी हुनेछन्। प्रकाशित वक्ता सूचीअनुसार उनीभन्दा अघि सेनेगल, फिजी, कोस्टारिका, नाइजेरिया, यमन, कुवेत, बार्बाडोस, आर्मेनिया, थाइल्यान्ड, जर्जिया, बंगलादेश, नेदरल्यान्ड्स, स्लोभानिया, ग्रीस, अष्ट्रेलिया र आयरल्यान्डका प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ। त्यसैले प्रत्येक वक्ताको सम्बोधनमा लाग्ने समयका आधारमा प्रधानमन्त्री शाहको वास्तविक सम्बोधन समय निर्धारित तालिकाभन्दा पछाडि सर्न सक्नेछ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्नुका साथै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। महासभाको उच्चस्तरीय सप्ताहमा जलवायु परिवर्तन, दिगो विकास, शान्ति तथा सुरक्षा र अन्य विश्वव्यापी चुनौती प्रमुख विषयका रूपमा छलफल भइरहेका छन्।

प्रधानमन्त्री शाहको सम्बोधन संयुक्त राष्ट्रसंघको आधिकारिक वेब टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुनेछ। संयुक्त राष्ट्रसंघले 81औँ महासभाको आमबहसका सबै सत्रको प्रत्यक्ष तथा अभिलेखित प्रसारण उपलब्ध गराउने व्यवस्था गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button