१८ आश्विन २०८३, आईतवार

कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका सात नेता प्रतिस्पर्धामा

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका सात नेता पार्टी नेतृत्वका विभिन्न पदमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्। अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा र अन्य छ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन्।

१४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि पत्रकारिताबाट टाढिएका शिवाकोटी यसपटक सहमहामन्त्रीको दौडमा छन्। दोलखाबाट महाधिवेशन प्रतिनिधि बनेका उनी नेपाल प्रेस युनियनका पूर्वमहासचिव हुन्।

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेल दाङबाट प्रतिनिधि चयन भएपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छन्। वरिष्ठ पत्रकार तथा देशान्तर मिडिया नेटवर्कका प्रमुख कविर राणा पनि केन्द्रीय सदस्यका आकांक्षी हुन्। उनी फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका तर्फबाट क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका थिए।

पत्रकार महासंघकी पूर्वउपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष बाला अधिकारीले केन्द्रीय सदस्यमा दोहोरिने घोषणा गरेकी छन्। विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी उनले महाधिवेशन प्रतिनिधि छनोटमा ओखलढुंगाबाट सर्वाधिक मत पाएकी थिइन्।

नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजन सञ्चालक समितिका पूर्वअध्यक्ष समीरजङ्ग शाह जाजरकोटबाट प्रतिनिधि बनेका छन्। उनले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरिसकेका छन्। युनियनका वर्तमान अध्यक्ष शिव लम्साल पनि केन्द्रीय सदस्यका दाबेदार हुन्। उनी बाराबाट प्रतिनिधि चयन भएका छन्।

पत्रकार कमला हमाल लुम्बिनी प्रदेशबाट युवा समूहअन्तर्गत महिला केन्द्रीय सदस्यको उम्मेदवार बन्ने तयारीमा छन्। १४औँ महाधिवेशनमा २४ वर्षको उमेरमै प्रतिनिधि बनेकी उनले त्यतिबेला पनि केन्द्रीय सदस्यमा दाबी गरेकी थिइन्। त्यसपछि पत्रकारिता छाडेर पार्टी काममा सक्रिय भएको समाचारमा उल्लेख छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button