शेन्जेनमा एपेकका पाहुनाको स्वागतमा सीद्वारा रात्रिभोज आयोजना

ड्रागन मिडिया समाचार कक्ष
चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनकी पत्नी पेङ लियुआनले बुधबार दक्षिण चीनको क्वाङतोङ प्रान्तस्थित शेन्जेनमा ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) आर्थिक नेताहरूको बैठकमा सहभागी हुन आएका पाहुनाको स्वागतमा रात्रिभोज आयोजना गरेका छन्।
चिनियाँ सरकार र जनताका तर्फबाट पाहुनालाई न्यानो स्वागत गर्दै राष्ट्रपति सीले शेन्जेनको खुलापन, नवीनता र सहकार्यले सहरको विकासलाई ऊर्जा दिएको बताए। शेन्जेनको सफलता चीनको सुधार र खुलापनको प्रतिरूप हुनुका साथै एसिया–प्रशान्त क्षेत्रमा फलदायी सहकार्यको उदाहरणसमेत भएको उनको भनाइ थियो।
एपेकको स्थापनादेखि नै खुलापन, नवीनता र सहकार्य यसका विशिष्ट विशेषता रहँदै आएको उल्लेख गर्दै सीले यसले क्षेत्रीय आर्थिक एकीकरणलाई दिशा दिएको बताए। उनका अनुसार एसिया–प्रशान्त क्षेत्र अहिले विश्वकै गतिशील क्षेत्र र विश्व अर्थतन्त्रको महत्त्वपूर्ण वृद्धि इन्जिन बनेको छ।
बिहीबार हुने आर्थिक नेताहरूको बैठकमा दुईतर्फी खुलापन विस्तार गर्ने उपाय, नवीनतामा आधारित विकासका बाटा र विभिन्न क्षेत्रमा व्यावहारिक सहकार्यका अवसरबारे छलफल हुने सीले बताए।





