३ मंसिर २०८३, बुधबार

‘बालेनले रविलाई जुनसुकै बेला थुन्न सक्छन्’ : वर्षमान पुन

ड्रागन मिडिया समाचार कक्ष

नेकपाका संगठन विभाग प्रमुख वर्षमान पुनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको शक्ति संघर्षले राज्यका निकाय कमजोर र विभाजित भएको आरोप लगाएका छन्। सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच राज्यसंस्थामा प्रभाव जमाउने प्रतिस्पर्धा चलिरहेको उनको दाबी छ।

नेकपाको राष्ट्रिय जागरण अभियानअन्तर्गत दैलेखमा नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै पुनले रास्वपाको आन्तरिक विवादले राष्ट्रियता र स्थापित संस्थाहरूलाई समेत कमजोर बनाएको बताए। पार्टीभित्रको संघर्ष बढ्दै जाँदा प्रधानमन्त्री शाहले लामिछानेलाई पक्राउ गर्न सक्ने वा लामिछानेले प्रधानमन्त्रीलाई पदबाट हटाउन सक्ने अवस्था आउन सक्ने उनको भनाइ थियो।

पुनले सरकार भारतसँग झुकेको आरोप पनि लगाए। उनले संविधान र वर्तमान राजनीतिक व्यवस्था कमजोर पार्ने दिशामा सरकार अघि बढेको दाबी गर्दै त्यसलाई रोक्न वामपन्थी दलबीच एकता र संविधान मान्ने लोकतान्त्रिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताए।

एमालेसँग सहकार्य गर्नुपर्नेमा जोड दिँदै पुनले खराब प्रवृत्ति र निरंकुश कार्यशैलीको समीक्षा गरेर अघि बढ्नुपर्ने धारणा राखे। नेपालको स्वाधीनता र लोकतन्त्रको रक्षा तथा विदेशी हस्तक्षेपविरुद्ध राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने उनको भनाइ थियो।

गणतन्त्रपछिका वर्षमा केही उपलब्धि नभएको भन्ने आलोचनाको खण्डन गर्दै पुनले भौतिक पूर्वाधार, शिक्षा र सामाजिक सुरक्षामा उल्लेखनीय प्रगति भएको दाबी गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button