गभर्नर पौडेलले एक वर्षमा पाए ४६ लाख ४८ हजार रुपैयाँ

ड्रागन मिडिया समाचार कक्ष
नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ मा तलब, बैठक भत्ता र अन्य सुविधासहित ४६ लाख ४८ हजार ९५६ रुपैयाँ प्राप्त गरेका छन्।
राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार पौडेलले तलबबापत १६ लाख ३२ हजार, सञ्चालक समिति बैठक भत्ताबापत ५ लाख ६७ हजार र अन्य भत्ता तथा सुविधाबापत २४ लाख ४९ हजार ९५६ रुपैयाँ पाएका हुन्।
सञ्चालक समितिका पदाधिकारीमध्ये डेपुटी गभर्नर श्रीकिरण पण्डितले सबैभन्दा बढी ६१ लाख ९८ हजार ९९५ रुपैयाँ प्राप्त गरेका छन्। गत चैत २४ गते डेपुटी गभर्नर नियुक्त भएका पण्डितले कार्यकारी निर्देशकका रूपमा पाएको तलब तथा भत्तासमेत जोड्दा उक्त रकम पुगेको हो। उनले तलबबापत १३ लाख ६५ हजार ५८०, बैठक भत्ताबापत २ लाख २५ हजार र अन्य सुविधा तथा भत्ताबापत ४६ लाख ८ हजार ४१५ रुपैयाँ पाएका छन्।
कार्यकाल पूरा गरी २०८२ फागुन २५ गते अवकाश भएका निवर्तमान डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना (तिम्सिना) र बमबहादुर मिश्रले आंशिक अवधिका लागि क्रमशः ५४ लाख १८ हजार ९७१ र ५१ लाख १६ हजार ७७१ रुपैयाँ प्राप्त गरेका छन्।
गैरकार्यकारी सञ्चालक तथा पदेन सदस्यका रूपमा रहेका अर्थ सचिवले तलब नपाए पनि बैठक भत्ता र अन्य सुविधा पाउँछन्। सञ्चालक डा. रवीन्द्रप्रसाद पाण्डेले २९ लाख ११ हजार २०१, चिन्तामणि शिवाकोटीले २४ लाख ४६ हजार ९६९ र शंकरप्रसाद आचार्यले २२ लाख ८३ हजार ८१३ रुपैयाँ प्राप्त गरेका छन्। अर्थ सचिव डा. घनश्याम उपाध्यायले बैठक भत्ता र अन्य सुविधासहित ८ लाख ८८ हजार १२० रुपैयाँ पाएका छन्।
प्रतिवेदनअनुसार गभर्नर, डेपुटी गभर्नर र सञ्चालक समितिका आठ पदाधिकारीले तलब, बैठक भत्ता र अन्य सुविधासहित कुल २ करोड ९९ लाख १३ हजार ७९७ रुपैयाँ प्राप्त गरेका छन्। समीक्षा वर्षमा राष्ट्र बैंक सञ्चालक समितिका ६४ बैठक बसेका थिए।
सञ्चालक समिति सदस्य र कार्यकारी निर्देशकसमेत समेटिने मुख्य व्यवस्थापन पदाधिकारीको समग्र पारिश्रमिकमा भने आर्थिक वर्ष २०८२/८३ मा २० करोड ५५ लाख ११ हजार रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।





