३ मंसिर २०८३, बुधबार

अनुमतिबिना भिडियो सार्वजनिक गरेको आरोपमा थप दुई पक्राउ

ड्रागन मिडिया सम्वाददाता

सामाजिक सञ्जालमा एक महिलाको भिडियो अनुमति नलिई सार्वजनिक गरेको आरोपमा प्रहरीले बुधबार थप दुई जनालाई पक्राउ गरेको छ। यसअघि मंगलबार पक्राउ परेका कलाकार छत्र बोगटीसहित तीन जनाविरुद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बुधबार पक्राउ पर्नेमा दाङका २८ वर्षीय सालिकराम न्यौपाने र दोलखाका ३७ वर्षीय नवरत्न तामाङ छन्। भक्तपुरको सूर्यविनायकबाट पक्राउ परेका ४२ वर्षीय बोगटी मनोरञ्जन क्षेत्रमा सर्विन बोगटीका नामले परिचित छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार, ४९ वर्षीया महिलाले अनुमति नलिई भिडियो खिचेर सार्वजनिक गर्दा आफ्नो गोपनीयता उल्लङ्घन भएको भन्दै जाहेरी दिएकी छन्। पक्राउ परेका तीनै जनामाथि वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ अन्तर्गत अनुसन्धान भइरहेको उनले बताए।

प्रहरीका अनुसार, न्यौपानेले आफूलाई ज्ञानु तामाङ बताउने महिलाको भिडियो फेसबुकको ‘इन्टरटेनमेन्ट रिल्स’ पेजमा पहिलोपटक पोस्ट गरेका थिए। भिडियोमा ती महिलाले गृहमन्त्री सुधन गुरुङ आफ्नो छोरा भएको दाबी गरेकी छन्। तर, उनी गृहमन्त्रीकी आमा भएको पुष्टि भएको छैन।

भिडियोमा ‘सुधन गुरुङकी आमाको अवस्था’ भन्ने दाबीसहितको सामग्री राखिएको थियो। प्रहरीले अरू दुई जनाले पनि उक्त भिडियो सामाजिक सञ्जालमा सेयर गरेको जनाएको छ।

न्यौपाने मंगलबारदेखि परिवारको सम्पर्कमा नआएको भन्दै उनकी पत्नी अस्मिता पाण्डेले बुधबार प्रहरी वृत्त सिंहदरबारमा निवेदन दिएकी थिइन्। पछि उनी पक्राउ परेको खुलेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button