प्रधानमन्त्रीको भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग छलफल

ड्रागन मिडिया सम्वाददाता
प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई उपलब्धिमूलक बनाउने तयारी भइरहेको भारतीय राजदूत सुधाकर दलेलाले बताएका छन्। भ्रमणका कार्यसूची तय भइसकेको र दुवै देशका सम्बन्धित निकायले आवश्यक गृहकार्य गरिरहेको उनले जानकारी दिए।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएका थिए। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता महत्त्वपूर्ण र ऐतिहासिक हुने दलेलाको भनाइ थियो।
नेपालका लागि नवनियुक्त राजदूत दलेलालाई प्रधानमन्त्री शाहले सफल कार्यकालको शुभकामना दिए। रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगका लागि उनले धन्यवाद पनि व्यक्त गरे।
भेटमा दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र भौगोलिक सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको थियो।





