सन् २०२७ को आसियान अध्यक्षतामा क्षेत्रीय जलवायु सहकार्य बलियो बनाउने सिंगापुरको योजना

ड्रागन मिडिया समाचार कक्ष
सिंगापुरले सन् २०२७ मा आसियानको अध्यक्षता गर्दा जलवायु कार्यमा क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिने भएको छ। सीमापार विद्युत व्यापार, जलवायु उत्थानशीलता र खाद्य सुरक्षामा साझेदार देशसँग मिलेर काम गरिने सिंगापुरकी दिगोपन तथा वातावरणमन्त्री ग्रेस फुले बताएकी छन्।
टर्किएमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलनमा राष्ट्रिय वक्तव्य दिँदै फुले आसियान पावर ग्रिड अघि बढाउन क्षेत्रीय साझेदारसँग सहकार्य गर्ने बताइन्। सीमापार विद्युत आयोजनामा देखिएका वित्तीय स्रोत जुटाउने र कार्यान्वयनका चुनौती सम्बोधन गर्न पनि सिंगापुरले काम गर्ने मन्त्रालयको वक्तव्यमा उल्लेख छ।
खाद्य प्रणालीको उत्थानशीलता बढाउने पहलअन्तर्गत ‘स्पायर एसिया’ कार्यक्रम अघि सारिएको छ। यसमा जलवायु अनुकूलनसम्बन्धी आयोजनामा लगानी परिचालन गर्न ५० करोड अमेरिकी डलरसम्मको मिश्रित वित्तीय कोष रहने फुलेले बताइन्।
कृषिमा जलवायु परिवर्तनका जोखिम घटाउन र सीमापार फैलिने धुवाँधुलोको समस्या नियन्त्रण गर्न पनि सिंगापुरले क्षेत्रीय साझेदारसँग सहकार्य गर्नेछ। यसका लागि भूमि व्यवस्थापन सुधार, नियमको प्रभावकारी कार्यान्वयन र क्षेत्रीय समन्वयमा जोड दिइने उनले बताइन्।





