दक्षिण कोरियाका बैंकमा भाखा नाघेको कर्जा दर घट्यो

ड्रागन मिडिया समाचार कक्ष
खराब कर्जाको व्यवस्थापन नयाँ भाखा नाघेका कर्जाभन्दा बढी भएपछि दक्षिण कोरियाका बैंकमा भाखा नाघेको कर्जाको दर सेप्टेम्बरमा घटेको छ।
कम्तीमा एक महिना भाका नाघेका बैंक कर्जाको अनुपात सेप्टेम्बरको अन्त्यमा ०.५९ प्रतिशत कायम भएको वित्तीय पर्यवेक्षण सेवाले जनाएको छ। यो दर अघिल्लो महिनाको तुलनामा ०.१० प्रतिशत बिन्दुले कम हो।
सेप्टेम्बरमा २.४ ट्रिलियन वन बराबर नयाँ कर्जा भाखा नाघेको थियो। सोही अवधिमा ४.७ ट्रिलियन वन बराबरको गैरनिष्पादित कर्जा व्यवस्थापन गरिएको सेवाको तथ्यांकमा उल्लेख छ। व्यवस्थापन गरिएको खराब कर्जा हटाएर गणना गर्दा नयाँ बैंक कर्जाको भाखा नाघ्ने दर ०.०९ प्रतिशत थियो। यो अघिल्लो महिनाभन्दा ०.०३ प्रतिशत बिन्दुले कम हो।
व्यावसायिक कर्जाको भाखा नाघ्ने दर ०.१४ प्रतिशत बिन्दुले घटेर ०.७२ प्रतिशत पुगेको छ। घरपरिवारमा प्रवाह गरिएको कर्जाको दर पनि ०.०४ प्रतिशत बिन्दुले घटेर ०.४१ प्रतिशत कायम भएको छ।
तेस्रो त्रैमासिकको अन्त्यमा खराब कर्जा व्यवस्थापन सक्रिय भएकाले समग्र दर घटेको वित्तीय नियामकले जनाएको छ। तर ब्याजदर बढ्ने दबाबका कारण आगामी दिनमा कर्जा भाखा नाघ्ने दर फेरि बढ्न सक्ने चेतावनी पनि उसले दिएको छ।





