३ मंसिर २०८३, बुधबार

सर्बिया पठाउने भन्दै ३० लाख ३० हजार ठगीको आरोप, युवक पक्राउ

ड्रागन मिडिया सम्वाददाता

वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै ३० लाख ३० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेको आरोपमा प्रहरीले २४ वर्षीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–१० स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्ने रोशन खड्का छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बुधबार ललितपुर महानगरपालिका–२८, हरिसिद्धीबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार खड्काले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाउँदै सर्बियामा रोजगारी मिलाइदिने आश्वासन दिएका थिए। उनले पीडितबाट रकम लिए पनि सर्बिया नपठाई लामो समयसम्म सम्पर्कविहीन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आफू ठगिएको भन्दै पीडितले दिएको जाहेरीका आधारमा खोजी गर्दा खड्का पक्राउ परेको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button