त्रिपक्षीय शिखर बैठकको उद्देश्य विश्व बाँड्नु होइन, जोखिम व्यवस्थापन हुनुपर्छ : चिनियाँ विद्वान

ड्रागन मिडिया समाचार कक्ष
चीनका राष्ट्रपति सी चिनफिङ, रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुन लागेको प्रस्तावित बैठकले नयाँ गठबन्धन बनाउने वा अन्य देशको भविष्य तय गर्नेभन्दा पनि तनाव व्यवस्थापन र द्वन्द्व रोकथाममा ध्यान दिनुपर्ने चीनको रेनमिन विश्वविद्यालयका विद्वान वाङ वेनले बताएका छन्।
तीन नेताबीच बिहीबार चीनको शेनझेनमा जारी एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा बैठक हुने तय भएको ह्वाइट हाउस र क्रेमलिनका विवरणमा उल्लेख छ।
प्राध्यापक ग्लेन डिएसनसँगको अन्तर्वार्तामा वाङले बैठकमा तीन विषयमा छलफल हुन सक्ने बताए। संकट व्यवस्थापन, साझा विश्वव्यापी चुनौतीमा सहकार्य र महाशक्तिबीचको प्रतिस्पर्धालाई व्यवस्थित गर्ने नियम। उनले आणविक जोखिम, क्षेत्रीय द्वन्द्व, जलवायु परिवर्तन, खाद्य सुरक्षा, ऊर्जा, सार्वजनिक स्वास्थ्य र कृत्रिम बुद्धिमत्ताको विश्वव्यापी शासनलाई सम्भावित विषयका रूपमा उल्लेख गरे।
वाङका अनुसार बैठकको महत्त्व सबै विवाद समाधान गर्नुमा भन्दा तनावलाई व्यापक द्वन्द्वमा परिणत हुन नदिनुमा हुनेछ। उनले अमेरिका–चीन प्रतिस्पर्धा दीर्घकालीन वास्तविकता बनिसकेको बताउँदै त्यसलाई व्यवस्थित गर्न र प्रत्यक्ष टकराव रोक्न दुवै पक्षबीच संवादका माध्यम आवश्यक रहेको धारणा राखे।
सन् १९४५ को याल्टा सम्मेलनसँग गरिएको तुलनाबारे बोल्दै वाङले महाशक्तिले बन्द कोठामा अरू देशका लागि निर्णय गर्ने व्यवस्था बन्न नहुने बताए। उनका अनुसार यस्तो संवाद साना र विकासशील देशका लागि पनि खुला हुनुपर्छ र संयुक्त राष्ट्रसंघमा आधारित विद्यमान अन्तर्राष्ट्रिय प्रणालीको पूरक बन्नुपर्छ।
वाङले प्रस्तावित दृष्टिकोणलाई ‘शेनझेन अन्तर्राष्ट्रिय प्रणाली’ नाम दिएका छन्। उनले यसलाई औपचारिक सम्झौता वा विद्यमान विश्वव्यवस्थाको विकल्प नभई महाशक्तिबीच संवाद र जोखिम व्यवस्थापन गर्ने विकसित हुँदै गरेको अवधारणाका रूपमा प्रस्तुत गरे। यसको विश्वसनीयता व्यवहारमा कसरी कार्यान्वयन हुन्छ भन्नेमा निर्भर रहने उनको भनाइ छ।





