महासभापछि पनि न्युयोर्कमा बसेका दुई इरानी कूटनीतिज्ञलाई अमेरिकाबाट निष्कासन

ड्रागन मिडिया समाचार कक्ष
संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी इरानी प्रतिनिधिमण्डलका दुई सदस्यलाई अमेरिकाले देश छाड्न निर्देशन दिएको छ। महासभा सकिएको केही दिनपछि पनि उनीहरू न्युयोर्कमै रहेको पाइएपछि निष्कासन गरिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै एक्सियोसले जनाएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोको निर्देशनमा विदेश मन्त्रालयले गत सोमबार संयुक्त राष्ट्रसंघका लागि रहेको इरानी नियोगलाई महासभामा सहभागी सबै प्रतिनिधिलाई तत्काल अमेरिका छाड्न भनेको थियो। तर दुई इरानी कूटनीतिज्ञ न्युयोर्कमै बसेको अमेरिकी अधिकारीहरूले पत्ता लगाएका थिए।
शुक्रबार अमेरिकी अधिकारीहरूले इरानी नियोगलाई ती दुई कूटनीतिज्ञ अझै न्युयोर्कमै रहेको जानकारी गराउँदै तत्काल अमेरिका छाड्न पुनः निर्देशन दिएका थिए। अधिकारीका अनुसार उनीहरूमध्ये एक जना शुक्रबार राति र अर्का शनिबार बिहान अमेरिकाबाट बाहिरिएका थिए।
अमेरिका र इरानबीच तनाव बढिरहेका बेला यो घटना भएको हो। दुई देशबीच युद्ध अन्त्यका लागि भइरहेका कूटनीतिक प्रयास कमजोर बनेको र सैन्य तनाव पुनः चर्किन सक्ने चिन्ता बढिरहेका बेला इरानी प्रतिनिधिमण्डलका सदस्यलाई अमेरिका छाड्न दिइएको निर्देशनले द्विपक्षीय सम्बन्धमा थप तनाव ल्याउन सक्ने देखिन्छ।





