इजरायल रोजगारी ठगी आरोपमा कांग्रेस उम्मेदवार खड्का पक्राउ

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार बिनिता खड्का वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई शुक्रबार राष्ट्रिय सभागृह नजिकबाट नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले बताएका छन्।
केयरगिभरको कामका लागि इजरायल पठाइदिने भन्दै रकम असुल्ने समूहमा खड्का संलग्न रहेको प्रहरीको आरोप छ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम दुरुपयोग गरेर ठगी गरिएको प्रहरीको भनाइ छ। यसअघि यही प्रकरणमा भरत चौलागाईं, बालिका सिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ पक्राउ परेका थिए।
प्रहरी अनुसन्धानअनुसार, इजरायलमा कामदार पठाउन सन् २०२४ मा भएको छनोट प्रक्रियाको ‘लक्की ड्र’मा नपरेका १५६ जनालाई पठाइदिने भन्दै समूहले २ करोड ५० लाख रुपैयाँ असुलेको आरोप छ। सिवाकोटीले आफूले सङ्कलन गरेको रकममध्ये डेढ करोड रुपैयाँ नगद चौलागाईंलाई दिएको बयान दिएको र खड्काले पनि ठगीको रकम बाँडफाँट गरी लिएको खुलेको प्रहरीले जनाएको छ। आरोपबारे अनुसन्धान जारी छ।





