९ मंसिर २०८३, मंगलवार

चीनमा विद्युतीय सवारी चार्जिङ र ब्याट्री साट्ने सेवाको विद्युत खपत ५९.४ प्रतिशत बढ्यो

ड्रागन मिडिया समाचार कक्ष

चीनमा अक्टोबरमा विद्युतीय सवारी चार्ज गर्ने र ब्याट्री साट्ने सेवाले अघिल्लो वर्षको सोही महिनाभन्दा ५९.४ प्रतिशत बढी विद्युत खपत गरेका छन्। इन्टरनेट डाटा सेवाको खपत पनि ३४.७ प्रतिशत बढेको छ। चीनको राष्ट्रिय ऊर्जा प्रशासनले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशको कुल विद्युत खपत भने यस अवधिमा १.६ प्रतिशत बढेको छ।

अक्टोबरमा सवारी चार्जिङ र ब्याट्री साट्ने सेवाले १८ अर्ब ६० करोड किलोवाट–घण्टा विद्युत खपत गरे। इन्टरनेट डाटा सेवाको खपत ९ अर्ब ९० करोड किलोवाट–घण्टा पुग्यो। देशभर कुल ८ खर्ब ७० अर्ब ९० करोड किलोवाट–घण्टा विद्युत खपत भयो।

चीनमा नयाँ ऊर्जा सवारीको बिक्री हिस्सा पनि बढेको छ। चिनियाँ सवारी उत्पादक संघका अनुसार अक्टोबरमा बिक्री भएका नयाँ कारमध्ये ६४.३ प्रतिशत नयाँ ऊर्जा सवारी थिए। सेप्टेम्बरमा यो हिस्सा ६१.६ प्रतिशत थियो। वर्षका पहिलो दस महिनाको समग्र बिक्रीमा यस्ता सवारीको हिस्सा ५४.८ प्रतिशत पुगेको छ।

चीन विद्युत परिषदका अधिकारी वु लिछ्याङका अनुसार चार्जिङ र डाटा सेवाजस्ता व्यवसायमा विद्युतको माग तीव्र रूपमा बढेकाले अर्थतन्त्रका तीन प्रमुख क्षेत्रमध्ये सेवा क्षेत्रमा खपतको वृद्धिदर सबैभन्दा उच्च रह्यो। अक्टोबरमा सेवा क्षेत्रको विद्युत खपत अघिल्लो वर्षको सोही महिनाभन्दा ६.३ प्रतिशत बढेर १ खर्ब ७१ अर्ब ४० करोड किलोवाट–घण्टा पुग्यो। प्राथमिक क्षेत्रको खपत ३.३ प्रतिशत बढेर १२ अर्ब ४० करोड र द्वितीयक क्षेत्रको खपत १.८ प्रतिशत बढेर ५ खर्ब ७९ अर्ब किलोवाट–घण्टा पुग्यो।

उच्च प्रविधि र उपकरण निर्माण गर्ने उद्योगको विद्युत खपत ६.५ प्रतिशत बढेर १ खर्ब ११ अर्ब १० करोड किलोवाट–घण्टा पुग्यो। अर्कातर्फ, अत्यधिक ऊर्जा खपत गर्ने उत्पादनमूलक उद्योगमा भने अघिल्लो वर्षको सोही अवधिको तुलनामा विद्युत खपत घटेको यो लगातार तेस्रो महिना हो।

सन २०२६ को जनवरीदेखि अक्टोबरसम्म चीनको कुल विद्युत खपत अघिल्लो वर्षको सोही अवधिभन्दा ३.७ प्रतिशत बढेर ८९ खर्ब ४० अर्ब किलोवाट–घण्टा पुग्यो। यस अवधिमा सवारी चार्जिङ र ब्याट्री साट्ने सेवाको विद्युत खपत ५५.९ प्रतिशत र इन्टरनेट डाटा सेवाको खपत ४०.८ प्रतिशत बढ्यो। चीन विद्युत परिषदले जुलाईमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा सन २०२६ भरि देशको कुल विद्युत खपत ५ देखि ६ प्रतिशतसम्म बढ्ने अनुमान गरेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button