दिगो औद्योगिक विकासका लागि विकसित र विकासशील देशबीच नयाँ साझेदारी गर्न युनिडोको आह्वान

ड्रागन मिडिया समाचार कक्ष
संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन (युनिडो) का महानिर्देशक गेर्ड मुलरले औद्योगिक विकासमा विकसित र विकासशील देशबीचको अन्तर थप फराकिलो हुन नदिन सहकार्य र ऐक्यबद्धतामा आधारित नयाँ साझेदारीको आह्वान गरेका छन्। भियनामा सोमबार युनिडोको औद्योगिक विकास बोर्डको ५४औँ अधिवेशनका क्रममा संगठनको ६०औँ वार्षिकोत्सव मनाउँदै उनले यस्तो आग्रह गरेका हुन्।
मुलरका अनुसार विकासशील देशलाई दिगो औद्योगिकीकरणमा सघाउने उद्देश्यले सन १९६६ मा युनिडो स्थापना भएको थियो। स्थापनाको छ दशकपछि यो जिम्मेवारी अझ महत्त्वपूर्ण बनेको उनको भनाइ छ।
हालै युनिडोमा पुनः प्रवेश गरेको बेलायत संगठनको १७४औँ सदस्य राष्ट्र बनेको छ। युनिडोका लागि बेलायतकी स्थायी प्रतिनिधि सोनिया फ्यारीले रोजगारी सिर्जना गर्न, उत्पादकत्व बढाउन र विभिन्न देशका अर्थतन्त्रलाई वातावरणीय दृष्टिले स्वच्छ तथा संकट सामना गर्न सक्षम बनाउन साझेदारहरूसँग काम गर्ने उद्देश्यले बेलायत संगठनमा फर्किएको बताइन्।
केन्याका उद्योगसम्बन्धी प्रमुख सचिव जुमा मुख्वानाले कृत्रिम बुद्धिमत्तालगायतका नयाँ प्रविधिको तीव्र विकासले उत्पादकत्व बढाउन र नवप्रवर्तनलाई प्रोत्साहन गर्न अवसर सिर्जना गरेको बताए। यी प्रविधिमा विकासशील देशको पनि पहुँच हुनुपर्नेमा उनले जोड दिए।
युनिडो समावेशी र दिगो औद्योगिक विकास प्रवर्द्धन गर्ने कार्यादेश पाएको संयुक्त राष्ट्रसंघको विशिष्टीकृत निकाय हो। यसले विकासशील देश र उदीयमान अर्थतन्त्रलाई उद्योग स्थापना तथा औद्योगिक रूपान्तरणमा सघाउँदै आएको छ। भियनामा सोमबार शुरु भएको बोर्डको अधिवेशन बुधबारसम्म चल्नेछ।





