बिहीबारदेखि वर्षाको सम्भावना, गण्डकीदेखि कोशीसम्म सतर्क रहन आग्रह

ड्रागन मिडिया सम्वाददाता
बङ्गालको खाडीमा विकसित चक्रवात अर्नबको प्रभावले नेपालमा बिहीबारदेखि वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्। मौसमविद् विनोद पोखरेलका अनुसार यसको प्रभाव भोलिदेखि बादल लागेर देखिन सक्छ। गण्डकीदेखि कोशी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान रहे पनि वर्षाको मात्रा र अवधि अझै निश्चित छैन।
पोखरेलका अनुसार सातवटा मौसम पूर्वानुमान नमुनामध्ये अधिकांशले नेपालमा भारी वर्षाको सम्भावना देखाएका छन्। एउटा नमुनाले भने फरक पूर्वानुमान गरेकाले ठूलो वर्षा हुने वा कम मात्रामा लामो समयसम्म पर्ने भन्नेमा अनिश्चितता छ।
भारतको मौसम विभागले चक्रवात अर्नब अक्टोबर २८ को बिहान बापटला र विशाखापटनमबीचको तटीय क्षेत्रमा प्रवेश गर्न सक्ने जनाएको छ। नेपालको मौसम पूर्वानुमानमा पनि अक्टोबर २९ देखि वर्षा सुरु हुन सक्ने र गण्डकीदेखि कोशीसम्म बढी प्रभाव पर्न सक्ने उल्लेख छ।
मौसमविद्ले हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। सम्भावित वर्षाका कारण यात्रा र बाहिरी गतिविधिको योजना बनाउँदा मौसमसम्बन्धी पछिल्लो सूचना हेर्नुपर्नेछ।





