चिडियाखोला–दोभान सडकमा खाल्डाखुल्डी, दुर्घटनाको जोखिम

ड्रागन मिडिया सम्वाददाता
सिद्धार्थ राजमार्गको पाल्पास्थित चिडियाखोलादेखि दोभान बजारसम्मको चार किलोमिटर सडकखण्डमा खाल्डाखुल्डी र धुलोका कारण दुर्घटनाको जोखिम बढेको छ। सडक मर्मत नहुँदा दुईपाङ्ग्रे र साना सवारीसाधनका चालकले जोखिम मोलेर यात्रा गर्नुपरेको स्थानीयले बताएका छन्।
सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष अरविन्द पाण्डेयका अनुसार सुरुङमार्ग निर्माण क्षेत्रमा साना–ठूला गरी दुई सयभन्दा बढी खाल्डा छन्। सम्बन्धित निकायलाई पटकपटक जानकारी गराउँदा पनि मर्मत नभएको उनको गुनासो छ।
सोमबार खाल्डोमा परेर स्कुटर दुर्घटना हुँदा गुल्मीको धुर्कोट गाउँपालिका–४ की ३७ वर्षीया माया कुँवरको उपचारका क्रममा मृत्यु भएको थियो। दुर्घटनामा स्कुटर चालक ३६ वर्षीया केशरी कुँवर घाइते भएकी छन्।
स्थानीयका अनुसार वर्षायाममा हिलाम्मे हुने सडक अहिले धुलाम्मे र खाल्डाखुल्डीले भरिएको छ। बुटवल–पाल्पा खण्डमा दैनिक करिब पाँच हजार सवारीसाधन चल्ने ट्राफिक प्रहरीको तथ्याङ्क छ। स्थानीयले खाल्डा तत्काल पुर्न, जोखिमयुक्त ठाउँमा चेतावनी संकेत राख्न र नियमित मर्मत गर्न माग गरेका छन्।





