जुम्लामा पहिलो सीमान्त साहित्य सम्मेलन

ड्रागन मिडिया सम्वाददाता
जुम्लामा पहिलोपटक एकदिने सीमान्त साहित्य सम्मेलन आयोजना गरिएको छ। कुटीरो रिसर्च सेन्टरले कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सोमबार जुम्ला विमानस्थलस्थित होटल कान्जिरुवामा सम्मेलन गरेको हो।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईंले सम्मेलनको उद्घाटन गरेका थिए। देशका विभिन्न जिल्लाबाट साहित्यकार, सर्जक, कलाकार, अनुसन्धानकर्ता तथा साहित्यप्रेमी सहभागी भएको आयोजकले जनाएको छ।
सीमान्त समुदायका सिर्जना, भाषा, साहित्य, संस्कृति र पहिचानलाई राष्ट्रिय तहमा प्रवर्द्धन गर्ने लक्ष्य सम्मेलनले लिएको छ। कार्यक्रममा साहित्यिक बहस, कविता वाचन, पुस्तक विमोचन, सांस्कृतिक प्रस्तुति, अनुभव आदानप्रदान र सिर्जनात्मक अन्तरक्रिया समेटिएका छन्।





