१२ कार्तिक २०८३, बुधबार

दशबुँदे सम्झौता कार्यान्वयनमा ढिलाइ भएको भन्दै बन्दी रिहाइका लागि दबाब

ड्रागन मिडिया सम्वाददाता

जेनजी आन्दोलनका क्रममा दर्ता भएका मुद्दा फिर्ता, थुनामा रहेका बन्दीको रिहाइ र दशबुँदे सम्झौता कार्यान्वयनबारे पोखरामा अन्तरक्रिया कार्यक्रम भएको छ।

जेनजी आन्दोलनका मुद्दा सम्बोधनका लागि गठित दबाब समूहले पोखरा–३, तेर्सापट्टीस्थित पोखरा सेन्ट्रल ओसिसमा आयोजना गरेको कार्यक्रममा जेनजी अगुवा, मुद्दा खेपिरहेका व्यक्ति, उनीहरूका अभिभावक र स्थानीय पत्रकार सहभागी थिए।

सरकारले सीमित मुद्दा मात्र फिर्ता गर्ने तयारी गरेको भन्ने खबरले पीडित र परिवारमा चिन्ता बढाएको आयोजकले जनाएको छ। सरोकारवालाबीच छलफल गरी न्यायका लागि साझा आवाज उठाउने उद्देश्यले कार्यक्रम गरिएको समूहले बताएको छ।

कार्यक्रममा जेनजी अगुवा सरिश्मा थापा र मोनिका निरौलाले आन्दोलनमा सहभागी भएकै आधारमा मुद्दा खेपिरहेका व्यक्तिलाई न्याय दिन, राजनीतिक प्रकृतिका मुद्दा फिर्ता लिन र थुनामा रहेकाहरूलाई निःशर्त रिहा गर्न सार्वजनिक बहस र निरन्तर खबरदारी आवश्यक रहेको बताए।

दबाब समूहका अध्यक्ष खली थापा, उपाध्यक्ष विवेक नाल्मी, सहसचिव शान्ति साइ र नागरिक अभियन्ता चन्द्रबहादुर गुरुङले आन्दोलनका क्रममा भएका सम्झौता पूर्ण रूपमा कार्यान्वयन गराउन आगामी दिनमा पनि दबाबमूलक कार्यक्रम जारी राख्नुपर्ने धारणा राखे।

कारागारमा रहेका आफन्तका परिवारले उनीहरूको अवस्था, न्याय र रिहाइबारे आफ्ना चिन्ता तथा अपेक्षा पत्रकारसमक्ष राखेका थिए। दबाब समूहका सचिव राजन श्रेष्ठले कार्यक्रममा सहभागी पत्रकार, पीडित परिवार, जेनजी अगुवा र अन्य सरोकारवालालाई धन्यवाद दिँदै माग सम्बोधन नभएसम्म सम्बन्धित निकायलाई खबरदारी गरिरहने बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button