लिभरपुलको रहस्यमय भूमिगत सुरुङ खन्न ३४ वर्ष लागेको थियो

ड्रागन मिडिया समाचार कक्ष
बेलायतको लिभरपुलमा रहेको विशाल भूमिगत सुरुङ सञ्जालको उद्देश्यबारे एक शताब्दीभन्दा बढी समयदेखि रहस्य कायम छ। नयाँ अनुसन्धानअनुसार, १९औँ शताब्दीका धनी व्यापारी जोसेफ विलियम्सनले बेरोजगारलाई काम दिन र सीप सिकाउने उद्देश्यले सुरुङ खनाएका थिए।
लिभरपुलको एज हिल क्षेत्रमा रहेको यो संरचना सडक सतहभन्दा कम्तीमा ६० फिट अर्थात् करिब १८ मिटर तल फैलिएको छ। यसको क्षेत्रफल एक वर्गमाइल वा त्योभन्दा बढी हुन सक्ने अनुमान छ। सुरुङभित्र विभिन्न तहमा कोठा, गल्ली र विशाल कक्षहरू छन्।
विलियम्सनले १९औँ शताब्दीको सुरुतिर आफ्नै घर र वरपरका क्षेत्रमा सुरुङ खन्न लगाएका थिए। तर, उनले यसको उद्देश्यबारे सार्वजनिक रूपमा केही बताएनन्। निर्माणसम्बन्धी नक्सा वा लिखित अभिलेख पनि भेटिएको छैन। त्यसैले लामो समयसम्म यसको प्रयोजनबारे विभिन्न अनुमान गरिँदै आएको थियो। कतिपयले तस्करीका लागि बनाइएको ठाने भने अरूले प्रलयको तयारी गर्ने कुनै भूमिगत समूहको केन्द्र हुन सक्ने अनुमान गरे।
तर सुरुङ उत्खनन र ऐतिहासिक अनुसन्धानमा संलग्न व्यक्तिहरूले यसको सम्भावित उद्देश्य परोपकार रहेको निष्कर्ष निकालेका छन्।
फ्रेन्ड्स अफ विलियम्सन टनेल्सका स्वयंसेवक टम स्टेपल्डनका अनुसार, औद्योगिक क्रान्तिका कारण धेरै कारीगर बेरोजगार भएका थिए। सन् १८१५ मा नेपोलियन युद्ध सकिएपछि ठूलो सङ्ख्यामा सैनिक पनि सेवाबाट फर्किएका थिए। बेरोजगार मानिसलाई काम दिन विलियम्सनले सुरुङ खन्न लगाएको स्टेपल्डनले बताए।
“काम नपाएकाहरूलाई व्यस्त राख्नु विलियम्सनको जीवनको प्रमुख उद्देश्य बनेको थियो,” स्टेपल्डनले भने। काम नपाउँदा मानिस सडकमा अलपत्र पर्ने, समस्यामा पर्ने, जेल जाने र परिवार पाल्न नसक्ने अवस्था आउन सक्थ्यो।
३४ वर्षसम्म चलेको निर्माण
जोसेफ विलियम्सनको जन्म सन् १७६९ मा भएको थियो। उनी ११ वर्षको उमेरमा योर्कसायरबाट लिभरपुल आएका थिए। त्यहाँ उनले आफ्ना ससुरा रिचर्ड टेटसँग सुर्तीको व्यापार सिके।
सन् १८०३ मा उनले व्यापारको जिम्मेवारी सम्हाले। व्यापार र अन्य कामबाट सम्पत्ति कमाएपछि सन् १८०६ मा एज हिल क्षेत्रमा जग्गा किने। त्यतिबेला उक्त क्षेत्र लिभरपुलको मुख्य सहरबाट दुईदेखि तीन माइल टाढा रहेको अविकसित भूभाग थियो।
विलियम्सनले त्यहाँ घर बनाउन थाले र स्थानीय बलौटे ढुङ्गा खन्ने काम अघि बढाए। यही क्रममा भूमिगत सुरुङ र कक्षहरूको विशाल सञ्जाल बनेको थियो।
स्टेपल्डनका अनुसार, विलियम्सनले करिब ३४ वर्षसम्म कामदारलाई उक्त क्षेत्रमा खटाएका थिए। उनीहरूले कहिले ढुङ्गा खनेर घर बनाउँथे भने कहिले खाल्डो खनेर फेरि पुरिदिन्थे।
विलियम्सनको निर्माण कार्य गोप्य राखिएको थियो। उनले कसैलाई सुरुङ देखाएको वा आफ्नो योजना सार्वजनिक गरेको प्रमाण भेटिएको छैन।
विलियम्सनको सन् १८४० मा मृत्यु भयो। त्यसको केही वर्षपछि सुरुङमा फोहोर र भत्किएका भवनका भग्नावशेष भरिए। त्यसपछि यो संरचना लामो समयसम्म बिर्सियो।
एक शताब्दीपछि पुनःखोज
इतिहासकार चाल्र्स ह्यान्डले एक शताब्दीअघि सुरुङबारे लेखेका लेखहरूले यसप्रति चासो जगाए। त्यसपछि सन् १९२६ मा यसको औपचारिक सर्वेक्षण गरियो।
सन् १९८९ मा जोसेफ विलियम्सन सोसाइटी स्थापना भएपछि सुरुङ संरक्षण र अनुसन्धानले गति लियो। सन् १९९० को दशकमा सुरुङ पुनःखोजिएपछि स्वयंसेवकहरूले वर्षौँसम्म उत्खनन गरे। सन् १९९९ मा छेउको क्षेत्रमा विद्यार्थी आवास बनाइँदै गर्दा कामदारको सहयोगमा प्याडिङ्टन क्षेत्रमा सुरुङभित्र पस्ने बाटो फेला परेको थियो।
अहिलेसम्म सुरुङका करिब एक दर्जन खण्ड पहिचान गरी उत्खनन गरिएको छ। तीमध्ये प्याडिङ्टन क्षेत्रको खण्ड सबैभन्दा ठूलो मानिन्छ।
सुरुङभित्र १९औँ र २०औँ शताब्दीका भाँडाकुँडा, बोतल र खेलौनाका टाउकाजस्ता वस्तु पनि भेटिएका छन्। अनुसन्धानकर्ताहरूका अनुसार, ती वस्तुले त्यसबेलाको जीवनशैलीबारे जानकारी दिन्छन्।
२७ फिट अग्लो भोज कक्ष
सुरुङभित्र भेटिएका संरचनामध्ये २७ फिट अग्लो ‘ब्यान्क्वेटिङ हल’ अर्थात् भोज कक्ष आकर्षक मानिन्छ। यो कक्ष करिब ६५ फिट लामो छ। माथिल्लो भागबाट तल हेर्दा विशाल गुम्बज आकारको संरचना देखिन्छ। संरक्षण समूहका अनुसार, कक्षको भुइँमा अझै करिब २० फिटसम्म भग्नावशेष हुन सक्छ।
विलियम्सनले एकपटक धनी पाहुनालाई घरमा बोलाएर सामान्य खाना खुवाएको र असन्तुष्ट पाहुनाहरू गएपछि आफ्ना समर्थकका लागि भव्य भोज आयोजना गरेको कथासँग यो कक्षको नाम जोडिएको छ। तर, उक्त कथा ऐतिहासिक रूपमा प्रमाणित छैन।
अनुसन्धानकर्ताहरूका अनुसार, विलियम्सनबारे प्रचलित धेरै रोचक कथाको स्रोत इतिहासकार जोन स्टोनहाउस हुन्। तीमध्ये उनले घोडालाई काँधमा बोकेर चर्च गएको भन्ने असाधारण कथासमेत छ।
उत्खनन अझै जारी
विलियम्सनका सुरुङ संरक्षणका लागि अहिले फ्रेन्ड्स अफ विलियम्सन टनेल्स र विलियम्सन टनेल्स हेरिटेज सेन्टर सक्रिय छन्।
दुवै संस्थाले पर्यटकलाई सुरुङ घुमाउँछन्। स्वयंसेवकहरूले हरेक साता उत्खनन, संरक्षण र ऐतिहासिक अनुसन्धानमा समय दिइरहेका छन्।
संरक्षणमा संलग्न व्यक्तिहरूका अनुसार, सुरुङ निर्माण व्यावसायिक परियोजना थिएन। यसको विशालता र निर्माणमा लागेको लामो समयले पनि त्यो कुनै व्यापारिक काम नभएको सङ्केत गर्छ।
विलियम्सनले कामदारलाई रोजगारी दिएर उनीहरूका परिवारलाई सहयोग गरेको स्थानीय चर्चका अभिलेखले पनि देखाउने अनुसन्धानकर्ताहरूको भनाइ छ। कतिपय परिवारले उनको सम्मानमा आफ्ना सन्तानको नाम विलियम्सन राखेका थिए।
करिब दुई शताब्दीपछि पनि विलियम्सनका सुरुङले मानिसलाई काममा व्यस्त राखिरहेका छन्। उत्खननमा संलग्न स्वयंसेवकहरूका लागि यो ऐतिहासिक संरचना मात्र नभई स्थानीय इतिहास र सामुदायिक सहयोगको जीवित उदाहरण बनेको छ।





