काग तिहार र यसकाे विश्वव्यापी फैलावटको कथा

ड्रागन मिडिया समाचार कक्ष
आज शनिबार काग तिहार मनाइँदैछ। यस दिन यमराजका दूतका रूपमा कागलाई पूजा गरी खानेकुरा दिने चलन छ। कागलाई शनिदेवको वाहन मान्ने धार्मिक जनविश्वास पनि छ। त्यसैले यस वर्ष काग तिहार शनिबारकै दिन परेको संयोगलाई कतिपयले विशेष अर्थका रूपमा हेर्छन्।
धार्मिक परम्परामा पूजिने यही चरा मानिसका गतिविधिका कारण दक्षिण एसियाबाट समुद्रपारिका विभिन्न भूभागसम्म पुगेको इतिहास पनि छ। कतै किरा नियन्त्रण गर्ने उद्देश्यले, कतै सहरको फोहोर व्यवस्थापनमा सघाउने आशाले मानिसले घरकागलाई नयाँ ठाउँमा पुर्याए। यो कथा काग आफैँ जहाजमा चढेको होइन; मानिसले पिँजरामा राखेर पानीजहाजमा ओसारेको इतिहास हो।
सन् १९०२ मा तत्कालीन मलाया प्रायद्वीपको बुकिट राजा क्षेत्रमा झुसिलकिराले बोटबिरुवामा क्षति पुर्याइरहेका थिए। फेडेरेटेड मलाय स्टेट्सको युनाइटेड प्लान्टर्स एसोसिएसनका अध्यक्ष ईभी केरीले किरा नियन्त्रण गर्न काग ल्याउने प्रस्ताव गरे। तत्कालीन सिलोन—हालको श्रीलंका—मा कागले यस्तै प्रकोप घटाउन सघाएको उनको तर्क थियो।
औपनिवेशिक प्रशासनले श्रीलंकाबाट घरकाग पठाउने व्यवस्था गर्यो। ७२ वटा कागलाई तीन ठूला पिँजरामा राखेर बन्दरगाहतर्फ लैजाँदा दुईवटा मरे। बाँकी कागलाई अस्ट्रियन लोयड कम्पनीको अस्ट्रिया नामक पानीजहाजमा राखियो। सन् १९०२ डिसेम्बर २८ मा समुद्री यात्रा सुरु भयो। पेनाङ पुग्दासम्म थप १० काग मरेका थिए। पछि ५० भन्दा बढी काग क्लाङ क्षेत्रमा खुला छагिए। Колम्बो म्युजियमका तत्कालीन निर्देशक आर्थर विलीले सन् १९०३ मा प्रकाशित विवरणमा यो घटना लेखेका थिए।
मलायाको घटना घरकागलाई यसको प्राकृतिक विचरण क्षेत्रबाहिर पुर्याइएको अभिलेखित उदाहरण हो, तर विदेशमा यसको उपस्थितिको कथा त्यसभन्दा पुरानो हुन सक्छ। सन् १८९१ मा प्रकाशित जोन लकवुड किप्लिङको पुस्तकमा भारतबाट कागको एक जोडी अदन पुर्याइएको उल्लेख छ। हिन्दु मजदुरहरूले किल्ला निर्माणका लागि त्यहाँ जाँदा ती काग लगेका थिए। यस विवरणका आधारमा सन् १८५० को दशकतिरै अदनमा घरकाग पुगेको हुन सक्ने अनुमान गरिएको छ। सन् १८९० को दशकमा सहरको फोहोर खान सघाउने उद्देश्यले जन्जिबारमा पनि काग लगिएको थियो। पछि यो पूर्वी अफ्रिकाका तटीय क्षेत्रमा फैलियो।
घरकागको वैज्ञानिक नाम Corvus splendens हो। यसको प्राकृतिक विचरण क्षेत्र नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकालगायत दक्षिण एसियाली देशमा पर्छ। सन् २०१७ मा प्रकाशित आनुवंशिक अध्ययनले यसको उत्पत्तिको सम्भावित क्षेत्र नेपाल, बंगलादेश र उत्तर भारत आसपास हुन सक्ने देखाएको थियो। मानिसले योजनाबद्ध रूपमा स्थानान्तरण गर्नु र पानीजहाजसँगै अनायासै पुग्नुले घरकागलाई आफ्नो मूल क्षेत्रभन्दा टाढा फैलिन सघायो। सन् २०१० मा प्रकाशित एक अध्ययनले यसको स्थापित बस्ती कम्तीमा २१ देशमा रहेको उल्लेख गरेको थियो।
मानिसको बस्ती नजिक बस्न र उपलब्ध खानेकुरामा अनुकूल हुन सक्ने क्षमताले घरकागलाई नयाँ ठाउँमा टिक्न मद्दत गर्यो। प्राकृतिक क्षेत्रमा यसले किरा, साना जीव र अन्य उपलब्ध आहारा खान्छ। सहरमा भान्साको फोहोर, मासु पसलका अवशेष र खुला फोहोरदानीमा फालिएका खानेकुरा यसको आहार बन्छन्। श्रीनगरमा गरिएको एक अध्ययनले भान्साको फोहोर र वधशालाका अवशेष घरकागका महत्त्वपूर्ण आहारस्रोत भएको देखाएको थियो।
कागले किरा, साना सर्प, मुसा, मरेका जनावर र खाद्य अवशेष खाएर वातावरणबाट केही जैविक फोहोर हटाउन सघाउँछ। वरिष्ठ चराविद् डा. हेमसागर बरालका अनुसार खतरा महसुस गर्दा कागले ठूलो स्वरमा कराउने भएकाले त्यसले अन्य जीवजन्तु र मानिसलाई सतर्क गराउन सक्छ।
तर मानिस नजिकै यसको सङ्ख्या बढ्दा अन्य चरामा असर पर्न सक्छ। बरालले ललितपुरको वज्रवाराही मन्दिर क्षेत्रमा मानिसको चहलपहल बढेसँगै घरकागको सङ्ख्या पनि बढेको र त्यसले साना चरालाई असर पारेको बताएका छन्। घरकागको विस्तारले मानवीय गतिविधिले स्थानीय पर्यावरणमा पार्न सक्ने प्रभाव देखाउँछ।
काग तिहारले कागसँग जोडिएको धार्मिक र सांस्कृतिक सम्बन्धलाई सम्झाउँछ। नेपाली हिन्दु परम्परामा कागलाई यमराजको दूत मानिन्छ र तिहारको पहिलो दिन पूजा गरी खानेकुरा दिइन्छ। शनिदेवको वाहनका रूपमा कागलाई मान्ने जनविश्वास पनि छ। यी धार्मिक मान्यतासँगै घरकागको इतिहासले मानिसले कुनै प्रजातिलाई नयाँ भूभागमा पुर्याउँदा त्यहाँको पर्यावरणमा दीर्घकालीन असर पर्न सक्ने कुरा पनि सम्झाउँछ।





