चिनियाँ कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चीनद्वारा विरोध

ड्रागन मिडिया समाचार कक्ष
चिनियाँ उद्यममाथि अमेरिकाले लगाएको एकपक्षीय प्रतिबन्धको चीनले कडा विरोध गरेको छ। यस्तो कदमले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताको उल्लङ्घन गर्ने चीनको वाणिज्य मन्त्रालयले जनाएको छ।
अमेरिकी विदेश मन्त्रालयले नोभेम्बर ५ मा दुई चिनियाँ कम्पनीमाथि प्रतिबन्ध घोषणा गरेको समाचारबारे सञ्चारमाध्यमले सोधेको प्रश्नमा मन्त्रालयका प्रवक्ताले शनिबार यस्तो प्रतिक्रिया दिनुभएको हो। क्युबासँग सम्बन्धित कारण देखाएर चिनियाँ कम्पनीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको यो पहिलो पटक भएको बताइएको छ।
हालै अमेरिकाले चीनविरुद्ध प्रतिबन्ध र दबाब बढाउँदै विभेदकारी प्रतिबन्धका विभिन्न उपाय ल्याएको प्रवक्ताको भनाइ छ। यसले चिनियाँ कम्पनीको अधिकार र हितमा गम्भीर असर पारेको, दुई देशका राष्ट्रप्रमुखबीच बनेको महत्त्वपूर्ण सहमतिबाट पछि हटेको र चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धको स्थिरता कमजोर बनाएको उहाँले बताउनुभयो।
चीनले अमेरिकालाई आफ्नो गलत कदम सच्याउन आग्रह गर्दै वैध अधिकार र हितको रक्षा गर्न आवश्यक उपाय अपनाउने अधिकार सुरक्षित रहेको जनाएको छ।





