२२ कार्तिक २०८३, शनिबार

डा. केसी र सरकारबीच छबुँदे सहमति, २५औँ सत्याग्रह अन्त्य

ड्रागन मिडिया सम्वाददाता

नेपाल सरकार र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीबीच छबुँदे सहमति भएपछि उहाँले शनिबार आफ्नो २५औँ सत्याग्रह अन्त्य गर्नुभएको छ। सहमतिमा चिकित्सा शिक्षा कार्यक्रम, विद्यार्थी सिट निर्धारण, विश्वविद्यालयका पदाधिकारी नियुक्ति र विगतका सहमति कार्यान्वयनका विषय समेटिएका छन्।

सहमति अनुसार चिकित्सा शिक्षा आयोगको निर्णयबमोजिम सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति र विद्यार्थी सिट सङ्ख्या निर्धारण गरिनेछ। नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थपिएका एमबीबीएस सिट मापदण्डअनुसार भए–नभएको जाँच गर्न प्रा. डा. रमेशप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिने सहमतिमा उल्लेख छ। समितिको प्रतिवेदनका सिफारिस कार्यान्वयन भएपछि मात्र साझा प्रवेश परीक्षाबाट उत्तीर्ण विद्यार्थीको भर्ना प्रक्रिया अघि बढाइनेछ। मापदण्ड उल्लङ्घन वा स्वार्थको द्वन्द्व देखिए संलग्न पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउने पनि सहमति भएको छ।

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ मा पदाधिकारीको योग्यता र नियुक्तिसम्बन्धी व्यवस्था संशोधन गरी दुई हप्ताभित्र अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाइनेछ। अध्यादेश जारी भएपछि डा. केसीले दिएका सुझावका आधारमा नयाँ पदाधिकारी नियुक्ति प्रक्रिया सुरु गर्ने सहमति छ।

सरकारले डा. केसीको २४औँ सत्याग्रहका क्रममा २०८३ साउन ११ गते भएको सहमतिका कार्यान्वयन हुन बाँकी बुँदा पूरा गर्ने प्रतिबद्धता जनाएको छ। नयाँ सहमतिको कार्यान्वयन अनुगमन गर्न संयुक्त कार्यदल गठन गरिने र त्यसले कम्तीमा महिनामा एकपटक बैठक गर्नेछ।

डडेलधुरा, इलाम र उदयपुरमा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि बजेट र पूर्वाधार विकासको काम अघि बढाउने तथा बर्दिबासमा मेडिकल कलेज स्थापना र सञ्चालन प्रक्रिया तत्काल अगाडि बढाउने सहमति पनि भएको छ।

सहमतिमा डा. केसी र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले हस्ताक्षर गर्नुभएको छ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, प्रतिनिधिसभा सदस्य पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजाल रोहबरमा रहनुभएको थियो। मन्त्री पोखरेलले सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्ने बताउँदै यसलाई डा. केसीको अन्तिम अनशन हुने विश्वास व्यक्त गर्नुभएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button