२२ कार्तिक २०८३, शनिबार

प्रेस, प्रहरी र अदालत कमजोर पारेर लोकतन्त्र बलियो हुँदैन : लामिछाने

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रेस, प्रहरी र अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाएर लोकतन्त्र बलियो हुन नसक्ने बताउनुभएको छ।

शुक्रबार चितवनमा आयोजित कार्यक्रममा उहाँले अदालतका विषयमा हल्का टिप्पणी गर्दा न्यायालय कमजोर हुने र त्यसको असर समग्र राज्य व्यवस्थामा पर्ने बताउनुभयो। अदालत, प्रहरी, सुरक्षा निकाय, निजी क्षेत्र, वैदेशिक सम्बन्ध, पेसागत सङ्गठन र प्रेस कमजोर भए देश र लोकतन्त्र दुवै कमजोर हुने उहाँको भनाइ थियो।

लामिछानेले लोकतन्त्रका आधारस्तम्भ कमजोर बनाउने गतिविधि र निर्णयप्रति सचेत रहन सबैलाई आग्रह गर्नुभयो। राज्यका संस्थालाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने उल्लेख गर्दै प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानमा राजनीतिक वा अन्य कुनै हस्तक्षेप हुन नहुने उहाँले बताउनुभयो।

“थुन्ने र सुन्ने कुरा होइन, पहिला सुन्नुपर्छ। सुनिसकेपछि राम्रोसँग अनुसन्धान गर्नुपर्छ,” उहाँले भन्नुभयो, “कुनै भ्रष्टलाई पक्राउ गर्दा अनुसन्धान यति बलियो होस् कि ऊ अदालतबाट फर्केर घर होइन, जेल जाओस्।”

चुनावका बेला रास्वपाले भ्रष्टाचारीलाई जेल पठाउने प्रतिबद्धता गरे पनि त्यसको अर्थ कसैलाई मन नपरेकै आधारमा पक्राउ गर्ने नभएको लामिछानेले स्पष्ट पार्नुभयो। विधिको शासन र कानुनी प्रक्रियाअनुसार अनुसन्धान गरेर बेथिति अन्त्य गर्ने उहाँको भनाइ थियो।

भ्रष्टाचारीमा राज्यको त्रास र सर्वसाधारणमा भरोसा हुनुपर्ने बताउँदै उहाँले जनतामै त्रास पैदा हुने अवस्था उचित नहुने धारणा राख्नुभयो। पार्टी सञ्चालन र सरकारका कामलाई सहज बनाउन तथा आवश्यक पर्दा सल्लाह दिन आफू जिम्मेवारीमा रहेको उल्लेख गर्दै लामिछानेले सरकारलाई नागरिकको सेवामा काम गर्न रास्वपाले बाधा नपुर्‍याउने बताउनुभयो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button