२२ कार्तिक २०८३, शनिबार

वीपी राजमार्गको पुनर्निर्माण सुरु, बर्खेखोला–पिप्ले खण्डमा जाइकाको काम

ड्रागन मिडिया सम्वाददाता

प्राकृतिक विपद्बाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुलीस्थित बर्खेखोला–पिप्ले खण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माण सुरु गरेको छ। राजमार्गका अन्य खण्डमा पनि काम अघि बढिरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

बर्खेखोला–पिप्ले खण्ड पुनर्निर्माणका लागि जाइकासँग २ अर्ब ६० करोड रुपैयाँमा सम्झौता भएको कार्यालयले जनाएको छ। पिप्लेदेखि काभ्रेपलाञ्चोकको भकुण्डेबेँसीसम्मको खण्डमा ५२ प्रतिशत भौतिक प्रगति भएको डिभिजन सडक प्रमुख सुमन योगेशले बताउनुभयो।

२०८१ असोजमा रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको दाप्चाखोला पुलदेखि सिन्धुलीको नेपालथोकसम्म करिब २९ किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो। काभ्रेपलाञ्चोकतर्फको २५.११ किलोमिटर सडक तीन खण्डमा पुनर्निर्माण भइरहेको छ। निर्माणाधीन खण्डमा आगामी वर्षायामअघि एक तह कालोपत्रे गर्ने तयारी छ। सडकलाई दुई लेनमा पुनर्निर्माण गरिँदैछ।

पुनर्निर्माण गरिएका सडकबाटै अहिले सवारीसाधन आवतजावत गरिरहेका छन्। केही साँघुरा स्थानमा डाइभर्सन बनाएर दुईतर्फी यातायात सञ्चालन गरिएको योगेशले बताउनुभयो। चौकीडाँडा, पिन्थली र डालाबेँशी–पिप्ले खण्डमा मर्मत तथा डाइभर्सनको काम भइरहेको छ।

वर्षाका कारण माथिबाट लेदो वा पहिरो खसेर सडक अवरुद्ध भए आधा घण्टादेखि केही घण्टाभित्र खुलाउन आवश्यक सामग्री व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ। पुनर्निर्माणका लागि सरकारले ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको छ—काभ्रेपलाञ्चोकका तीन खण्डका लागि ७ अर्ब ५० करोड र सिन्धुलीको खण्डका लागि १ अर्ब रुपैयाँ।

योजनाअनुसार पाँचवटा पुललाई दुई लेनमा विस्तार गरिनेछ र तीन खण्डमा ६.३ किलोमिटर आरसीसी पर्खाल निर्माण हुनेछ। वीपी राजमार्ग धुलिखेल–सिन्धुली–बर्दिबास जोड्ने १६० किलोमिटर लामो सडक हो। जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको राजमार्ग २०७२ असार १८ गते नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button