इलामका तल्लो भेगमा धान भित्र्याउने चटारो, उत्पादन बढ्ने अनुमान

ड्रागन मिडिया सम्वाददाता
तिहार सकिएसँगै इलामका तल्लो भेगका किसान धान काट्न र भित्र्याउन व्यस्त भएका छन्। यस वर्ष समयमै वर्षा हुनु र बाली भित्र्याउने समयमा मौसम अनुकूल रहनुले उत्पादन राम्रो हुने अपेक्षा किसानको छ।
माङसेबुङ गाउँपालिका–३, रतुवाबेँसीका किसान देउकुमार इधिङ्गोका अनुसार घाम लागेपछि स्थानीय किसानले धान काट्न थालेका हुन्। उनी यस वर्ष ४० रोपनीमा धानखेती गरेका छन्। धान काट्ने, सुकाउने, बिटा उठाउने र थन्क्याउने काममा परिवारका सदस्य खटिएका छन्। चराचुरुङ्गी र मुसाबाट बाली जोगाउन धान काट्न ढिलाइ गर्न नहुने इधिङ्गो बताउँछन्।
स्थानीय किसान हस्तबहादुर पोख्रेलका अनुसार टारी र फाँटका धान पाकेर पहेँलपुर भएपछि किसानलाई बाली भित्र्याउने चटारो परेको छ। इलाममा कात्तिकको अन्तिम सातादेखि मङ्सिरसम्म धान काट्ने र थन्क्याउने मुख्य समय हो। धेरै ठाउँमा अझै पनि परम्परागत विधिबाट धान काट्ने र झार्ने चलन छ।
धान वर्षभरि खाने मुख्य अन्नबाली भएकाले परिवारका सदस्य मिलेर बाली भित्र्याउने गरेको किसान दिलकुमार लावतीले बताए। धान थन्क्याएपछि खेतमा तोरी, फापर, आलु, गहुँ, मकै र तरकारी लगाउने किसानको तयारी छ।
कृषि ज्ञान केन्द्र इलामका अनुसार जिल्लामा ११ हजार ६२ दशमलव ६४ हेक्टरमा धानखेती हुँदै आएको छ। चुलाचुली गाउँपालिका र माई नगरपालिकामा व्यावसायिक धानखेती बढी हुन्छ। माङसेबुङ, फाकफोकथुम, रोङ, माईजोगमाई र सन्दकपुर गाउँपालिका तथा देउमाई, इलाम र सूर्योदय नगरपालिकाका तल्लो क्षेत्रमा पनि धानखेती गरिन्छ।
किसानले सावित्री र रञ्जितजस्ता उन्नत जातसँगै चिराखे, भँगेरे, चुल्ठे, मन्सुली र रामधानजस्ता स्थानीय जात लगाउने गरेका छन्। समयमै रोपाइँ सकिएकाले अघिल्ला वर्षभन्दा यस वर्ष उत्पादन बढी हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रदीप लुइँटेलले बताए।





