गाईघाटलाई ५–० ले हराउँदै स्वर्णिम महिला गोल्डकपको सेमिफाइनलमा

ड्रागन मिडिया सम्वाददाता
आयोजक स्वर्णिम फुटबल क्लबले गाईघाट फुटबल क्लब, उदयपुरलाई ५–० ले पराजित गर्दै प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ।
आइतबार धरानमा भएको खेलमा सजिना स्याङ्ताङले १३औँ मिनेटमा गोल गर्दै स्वर्णिमलाई अग्रता दिलाइन्। उनले ६३औँ र इन्जुरी समयको ९१औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरिन्। समीक्षामगरले ३७औँ र ८६औँ मिनेटमा गोल थपिन्।
ह्याट्रिक गरेकी सजिना खेलकी उत्कृष्ट खेलाडी घोषित भइन्। आयोजक क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईका अनुसार उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।
सोमबार त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। डी–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ। भारतसहित आठ टोली सहभागी प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँसहित ट्रफी पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई विद्युतीय स्कुटर र व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।





