हात्तीको जोखिमबीच बाहुनडाँगीमा किसानलाई धान भित्र्याउन सुरक्षाकर्मीको साथ

ड्रागन मिडिया सम्वाददाता
जङ्गली हात्तीबाट पाकेको धानबाली जोगाउन झापाको बाहुनडाँगीमा किसान, सुरक्षाकर्मी र जनप्रतिनिधि मिलेर धान काट्ने अभियानमा जुटेका छन्। मेचीनगर नगरपालिका–४ का हात्ती प्रभावित क्षेत्र र सीमावर्ती बस्तीमा आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा र जनप्रतिनिधिले किसानलाई बाली भित्र्याउन सघाएका हुन्।
हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले किसानलाई पाकेको धान समयमै काटेर सुरक्षित राख्न आग्रह गरेको थियो। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाली भित्र्याउने अवधिमा हात्तीको जोखिम कम गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने प्रतिबद्धता जनाएका थिए।
वडाध्यक्ष अर्जुन कार्कीका अनुसार हात्तीको निरन्तर आवागमनले खेतमै पाकेको धानमा क्षति पुग्ने जोखिम बढेपछि संयुक्त रूपमा काट्ने काम अघि बढाइएको हो। उनले किसानको बाली सुरक्षित रूपमा भित्र्याउन र सम्भावित क्षति कम गर्न स्थानीय समुदाय तथा सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको बताए।
यसअघि शुक्रबार बिहान बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारी पोखरेलसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखको टोली बाहुनडाँगी पुगेको थियो। अनुगमनका क्रममा किसानले कम्तीमा पाँच दिन हात्तीको प्रवेश नियन्त्रण गर्न सके पाकेको धान सुरक्षित रूपमा भित्र्याउन सकिने बताएका थिए।
किसानको आग्रहपछि प्रमुख जिल्ला अधिकारीले थप सुरक्षाकर्मी परिचालन गरी स्थानीय समुदायसँग समन्वय गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका थिए। प्रशासनले हात्तीको आवागमन नियन्त्रण गर्ने प्रयाससँगै किसानलाई सुरक्षित रूपमा बाली भित्र्याउन सहयोग गर्ने जनाएको छ।





